नवलपरासी, ८ साउन । अविरल वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काई ?दिएका छन् । गाउँ नै डुब्ने अवस्था आएपछि उनीहरुले बुधबार बिहानै नहर भत्काई दिएका हुन् ।
स्थानीय सर्वसाधरण बुधबार बिहानै कोदालो, गैंची लिएर गई नहरको डिल भत्काएको स्थानीय रामु न्यौपानेले जानकारी दिएका छन् । त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ । त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ । नहरका कारण सयौ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन् ।
भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको स्थानीय बताउँछन् । बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने स्थानीय प्रेम चन्द्र गुप्ता बताउँछन् ।
नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको उनले जानकारी दिए ।
१९ वर्षअघि पनि स्थानीयले त्यही ठाउँमा नहरको डिल भत्काई दिएका थिए । स्थानीयले नहरको डिल भत्काएपछि भारतीय पक्षले ४ वटा ह्युमपाइप राखेर पानीको निकास बनाएको थियो । ४ वटा ह्युमपाइ सानो भएका कारण डिल नै भत्काउन स्थानीय बाध्य भएका हुन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नहर भत्काएको स्थान २० किलोमिटर पूर्व पर्छ ।
हरेक पटक गाउँ जोगाउन डिल भत्काउने गरे पनि पानी भिरालोतिर बग्ने स्थायी संरचना भारतले नबनाउने गरेका कारण समस्या हुने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । सम्झौताअनुसार गण्डक नहरले पुग्ने क्षति तत्काल न्यूनिकरण गर्ने र मर्मतको जिम्मा भारत सरकारको हो ।
त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिंचाइका लागि लैजाने गरेको छ । त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिचाइ हुन्छ ।


