सञ्चालनमा नआउदै बाढीले देवघाटको विद्युतीय शवदाह गृह जोखिममा

 

चितवन ।
आइतबार नारायणी नदीमा आएको बाढीले देवघाटस्थित विद्युतीय शवदाह गृह भत्किने जोखिममा परेको छ । बाढीले शवदाह गृहको पश्चिमतर्फको जगमा असर पु¥याएपछि भवन जोखिममा परेको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण सम्पन्न गरी गत वर्ष भरतपुर महानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि महानगरपालिकाले सञ्चालनको मोडालिटी तयार गर्दै आएको थियो । सञ्चालनको अन्तिम तयारी भइरहेका बेला बाढीले शवदाह गृहमा क्षति पु¥याएको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख कृष्ण महर्जनले बाढीबाट भएको क्षतिबारे अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार मुख्य भवनमा ठूलो क्षति नपुगेको प्रारम्भिक जानकारी आएको छ । “मुख्य संरचना भवनमा क्षति नपारेको भन्ने हामीले सुनेका छौँ । पश्चिमतर्फ रहेको नदीले जगमा असर पारेको भन्ने मात्र सूचना आएको छ । अध्ययनपछि के कति क्षति भएको हो भन्ने जानकारी दिनेछौँ,” उहाँले भन्नुभयो ।
बाढीले भवनको तल्लो तला बालुवा र लेदोले भरिएको छ । जगभित्र बाढीको पानी पस्दा तल्लो भाग खोक्रो बनाएको छ भने भवनको सुरक्षाका लागि निर्माण गरिएको पर्खालसमेत भत्काएको छ ।
भरतपुर महानगरपालिकाले शवदाह गृह सञ्चालनका लागि नौ जना कर्मचारीलाई दुई चरणमा खटाउने व्यवस्था गरेको थियो । एक जना इलेक्ट्रिसियन, चार जना नगर प्रहरी र चार जना सरसफाइकर्मीलाई खटाइएको थियो । महानगरपालिकाले शवदाह गृह सञ्चालनका लागि १६ जनालाई तालिमसमेत दिएको थियो ।
महानगरपालिकाले एउटा शव दहनका लागि तीन हजार ५०० रुपियाँ शुल्क निर्धारण गरेको थियो । एउटा शव दहन गर्न ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्ने महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
आठ वर्षअघि निर्माण सुरु गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको थियो । विसं २०७५ माघ ३ गते निर्माण सुरु भएको शवदाह गृह पटकपटक म्याद थप गरी निर्माण सम्पन्न गरिएको हो । गृहमा दुई वटा शवदाह गर्ने मेसिन जडान गरिएको छ भने शव राख्न चार वटा शव अट्ने ‘फ्रिज’ जडान गरिएको छ ।
वर्षातमा पानीको सतह बढ्ने भएकाले भुइँतला खाली राखी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार दैनिक सातदेखि १० वटा शव अन्त्येष्टिका लागि देवघाट ल्याउने गरिएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयले ११ करोड २१ लाख आठ हजार ६४१ रुपियाँको लागतमा शवदाह गृह निर्माण गरेको हो ।

शेयर गरौ

ताजा अपडेट