चितवन, १० असोज । नेपाली कांग्रेस, चितवन प्रदेश ३ (ख) को सभापतिमा युवा नेता दीपक दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सभापतिमा दुई जनाको उम्मेदवारी परेकोमा अर्का उम्मेदवार सूर्य मणि पौडेलले सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिएपछि दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेसको विधानले प्रदेश सभापतिलाई पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहने व्यवस्था गरेको छ ।
कांग्रेस प्रदेश ३ (ख) को तेह्र सदस्यीय कार्यसमिति नै उम्मेदवारहरूबीचको सहमतिबाट सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सभापति दवाडीले जानकारी दिनुभएको छ । प्रदेश समितिको उपसभापतिमा जयनारायण लामिछाने, सचिवमा सुजन ढकाल तथा सहसचिवमा खडानन्द शर्मा र मञ्जु मोक्तानलगायत सिङ्गो कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
त्यसैगरी, २४ जना बागमती प्रदेश प्रतिनिधि पनि निर्विरोध निर्वाचित हुनुभएको दवाडीले बताउनुभयो । नेपाली कांग्रेसको जारी क्षेत्रीय निर्वाचनका क्रममा चितवनमा प्रदेशतर्फ निर्विरोध निर्वाचित हुने यो नै पहिलो कार्यसमिति हो ।


