आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

चितवन, २३ कात्तिक ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ ।

सोमबार बिहान करिब ५स्३० बजे सडक माथिबाट ठूलो सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो १स्३० बजेपछि दुईतर्फी सञ्चालनमा आएको हो । पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने दुवैतर्फका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

ठूलो परिमाणमा ढुङ्गा र माटोसहितको पहिरो खसेका कारण सडक खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय भरतपुरको उपकरण प्रयोग गरी पहिरो पन्छाइएको उहाँले बताउनुभयो । अहिले दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन् ।

पहिरो पन्छाउन मुग्लिन र काठमाडौँ दुवैतर्फबाट उपकरण परिचालन गरिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरबाट लोडर पठाइएको थियो भने काठमाडौँतर्फबाट दुईवटा एक्साभेटर, ब्याकहो लोडर र लोडर परिचालन गरिएको थियो । पहिरो पन्छाउने क्रममा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले काममा चुनौती भएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी प्रमुख सूचना अधिकारी सजना अधिकारीका अनुसार मुग्लिनबाट मलेखुतर्फ करिब तीन किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा पटकपटक सुक्खा पहिरो खस्दा सडक सफाइमा कठिनाइ भएको थियो । सडक माथिको भागबाट निरन्तर ढुङ्गा र माटो खस्ने क्रमले काम प्रभावित भएको उहाँले बताउनुभएको थियो ।

घोप्टेभिरमा आइतबार पनि सुक्खा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । आइतबार दिउँसो २ः१५ बजे पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । लगातार दुई दिन एउटै स्थानमा पहिरो खसेपछि यस खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकले सास्ती बेहोर्नुपरेको छ ।

यस क्षेत्रमा सडक माथिको भिर कमजोर रहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको सडक आयोजनाका अधिकारीहरूले बताएका छन् । तिहारका लागि घर फर्किने यात्रुको चाप बढिरहेका बेला राजमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रुहरू थप समस्यामा परेका छन् ।

शेयर गरौ

ताजा अपडेट