भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण अलपत्र, फेरि म्याद थप

चितवन ।
भरतपुर विमानस्थलको स्तरोन्नति तथा विस्तारअन्तर्गत निर्माणाधीन नयाँ टर्मिनल भवनको काम एक वर्षदेखि प्रभावित भएको छ ।
प्राविधिक विषयमा निर्णय हुन नसक्नु, परामर्शदाता अनुपस्थित हुनु र निर्माण व्यवसायीले अपेक्षित प्रगति हासिल गर्न नसक्नुका कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेपछि निर्माण अवधि २०८४ साउन २१ गतेसम्म थप गरिएको छ । करिब दुई अर्ब रुपियाँको लागतमा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगे पनि वित्तीय प्रगति १६.१० प्रतिशत मात्रै रहेको छ ।
नयाँ टर्मिनल भवन निर्माणका लागि २०७९ चैत ६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयसीमामा काम पूरा हुन सकेन । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार परामर्शदाता अनुपस्थित हुँदा हिटिङ, भेन्टिलेसन तथा एयर कन्डिसनिङ (एचभीएसी) र विद्युतीय प्रणालीलगायत प्राविधिक विषयमा निर्णय हुन नसकेको तथा निर्माण व्यवसायीबाट पनि अपेक्षित प्रगति हुन नसकेको हो । उहाँले म्याद थप भएपछि निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो ।
आयोजनाको लागत अनुमान दुई अर्ब १७ करोड ४८ लाख ४५ हजार २०९ रुपियाँ १० पैसा रहेको थियो । निर्माण व्यवसायीसँग मूल्य अभिवृद्धि करसहित एक अर्ब ९२ करोड ७० लाख ८५ हजार ७७७ रुपियाँ ७७ पैसामा सम्झौता गरी काम अघि बढाइएको सूचना अधिकारी भुलले बताउनुभयो ।

भौतिक प्रगति ४० प्रतिशत, वित्तीय १६.१० प्रतिशत
आयोजनाको भौतिक र वित्तीय प्रगतिबीच ठूलो अन्तर देखिएको छ । निर्माण कार्यको भौतिक प्रगति करिब ४० प्रतिशत पुगे पनि वित्तीय प्रगति १६.१० प्रतिशत मात्रै छ । प्राविधिक विषयमा निर्णय हुन नसक्नु र निर्माण कार्यले अपेक्षित गति लिन नसक्नुले आयोजनाको कार्यान्वयन प्रभावित भएको देखिन्छ ।
विशेषगरी टर्मिनल भवनमा जडान गर्नुपर्ने वातानुकूलित प्रणाली, विद्युतीय संरचना तथा अन्य प्राविधिक कामसम्बन्धी निर्णय हुन बाँकी रहेकाले निर्माण कार्यमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ । आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेपछि निर्माण अवधि थप गरिएको हो । प्राधिकरणले निर्माण कार्य जारी रहेको जनाएको छ ।

धावनमार्ग एक हजार ५०० मिटर पु¥याइँदै
भरतपुर विमानस्थलको हालको धावनमार्ग एक हजार २०० मिटर लामो छ । धावनमार्गको लम्बाइ कम हुनु र दुवैतर्फ थ्रेसहोल्ड डिस्प्लेसमेन्ट रहनुले विमानस्थलको सञ्चालन क्षमतामा सीमा कायम गरेको छ । अहिले सीमित क्षमताका जहाजले मात्रै यहाँबाट उडान तथा अवतरण गर्न सक्ने अवस्था छ ।
विमानस्थल विस्तारपछि धावनमार्गको लम्बाइ एक हजार ५०० मिटर पु¥याउने योजना छ । यसबाट एटीआर–७२ वा सो सरहका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । धावनमार्ग विस्तारसँगै यात्रुको चाप धान्न सक्ने टर्मिनल भवन र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट करिब २२ किलोमिटरको दूरीमा रहेको भरतपुर विमानस्थल चितवनको पर्यटन तथा आर्थिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । काठमाडौँसँग हवाई सम्पर्क कायम गर्नुका साथै जिल्लामा आउने पर्यटकलाई सेवा प्रदान गर्ने यस विमानस्थलको स्तरोन्नति आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

दुईतले टर्मिनल भवन, साततले कन्ट्रोल टावर
आयोजनाअन्तर्गत दुईतले टर्मिनल भवन निर्माण भइरहेको छ । भवनमा हवाई यात्रुका लागि आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । साथै, विमानस्थल तथा नागरिक उड्डयन कार्यालयका लागि आवश्यक प्रशासनिक क्षेत्रसमेत रहनेछ । टर्मिनल भवनसँगै साततले एयर ट्राफिक कन्ट्रोल टावर निर्माण गर्ने योजना छ । विमानस्थलको क्षमता विस्तार भएपछि उडान व्यवस्थापन, यात्रु सेवा र विमान पार्किङका लागि आवश्यक पूर्वाधार थप गरिनेछ ।
विमानस्थल विस्तारका लागि थप जग्गा व्यवस्थापनको प्रक्रिया पनि अघि बढाइएको छ । विमानस्थलको पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्रको व्यवस्थापन तथा विस्तारका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी भुलले जानकारी दिनुभयो । नेपाली सेनाको स्वामित्वमा रहेको १८.७० बिघा जग्गा प्राप्त गरी धावनमार्ग विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
विस्तारित धावनमार्ग र नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि विमानस्थलको क्षमता वृद्धि हुनुका साथै यात्रुले थप सुविधा पाउने अपेक्षा गरिएको छ । तर, निर्माण कार्यमा भएको ढिलाइ र प्राविधिक निर्णयमा देखिएको समस्याले आयोजना सम्पन्न गर्ने समयसीमालाई चुनौतीपूर्ण बनाएको छ ।

शेयर गरौ

ताजा अपडेट