चितवन । निर्माण व्यवसायी संघ चितवनको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार माधवप्रसाद पोखरेलको उम्मेदवारी चर्चामा छ। संघका बहालवाला वरिष्ठ उपाध्यक्ष पोखरेल विगत तीन दशकदेखि निर्माण व्यवसायमा सक्रिय हुनुहुन्छ।
पोखरेलले २०५३ सालदेखि एमपी निर्माण सेवामार्फत निर्माण क्षेत्रमा काम गर्दै आउनुभएको छ। हेटौँडाबाट निर्माण व्यवसाय सुरु गर्नुभएका उहाँले पूर्वमा जनकपुरदेखि पश्चिममा महेन्द्रनगरसम्म विभिन्न निर्माण आयोजना सम्पन्न गर्नुभएको छ। चितवनमा नारायणी नदी तथा रिउ खोलाको तटबन्ध निर्माणलगायतका आयोजनामा समेत उहाँको संलग्नता रहेको छ।
निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, भुक्तानीमा ढिलाइ, युवा जनशक्तिको घट्दो आकर्षण र विभिन्न प्रशासनिक प्रक्रियाका कारण निर्माण क्षेत्रमा चुनौती थपिएको पोखरेलको भनाइ छ। निर्माण व्यवसायीका साझा समस्या समाधान गर्दै पेसागत अधिकार स्थापित गर्ने उद्देश्यले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ।
निर्माण क्षेत्रमा तीन दशक लामो अनुभव हासिल गर्नुभएका पोखरेलसँग चितवन समाचार डटकमले गरेको कुराकानीको सम्पादित सारसंक्षेप ः
प्रश्न ः तपाईंले निर्माण व्यवसायी संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। तपाईंको उम्मेदवारीको मुख्य उद्देश्य के हो ?
देश निर्माणमा योगदान पुर्याउनुका साथै निर्माण व्यवसायीको हकहित र अधिकार स्थापित गर्न मेरो उम्मेदवारी हो। म व्यक्तिगत स्वार्थका लागि नेतृत्वमा आउन खोजेको होइन। निर्माण व्यवसायमा आबद्ध सबै व्यवसायीका साझा समस्या समाधान गर्न र उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउन चाहन्छु।
निर्माण व्यवसायीले देशको भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। तर, उनीहरूले काम गर्ने क्रममा विभिन्न समस्या भोग्नुपरेको छ। ती समस्या समाधान गर्दै निर्माण व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन मेरो प्रयास रहनेछ।

प्रश्न ः निर्माण क्षेत्रमा अहिले के(कस्ता समस्या देख्नुभएको छ ?
निर्माण क्षेत्रमा समस्या धेरै छन्। ती समस्याका बाबजुद पनि व्यवसायीले इमानदारीपूर्वक काम गरिरहेका छन्। निर्माण सामग्रीको अभाव, सामग्रीको मूल्यमा हुने अस्थिरता र पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धिले निर्माण लागत बढाएको छ।
अर्कोतर्फ, निर्माण सम्पन्न गरेपछि भुक्तानी पाउन ढिलाइ हुने समस्या छ। यसले व्यवसायीको आर्थिक अवस्था र आयोजना सञ्चालनमा प्रत्यक्ष असर पारिरहेको छ। युवाहरूको निर्माण क्षेत्रमा घट्दो आकर्षण पनि अर्को चुनौती हो।
स्थानीय स्रोतसाधनको अभाव, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका प्रक्रिया समयमा पूरा नहुनु र त्यसबाट आयोजनामा हुने ढिलाइ पनि समस्याका रूपमा रहेका छन्। कतिपय अवस्थामा चन्दा आतंकजस्ता गतिविधिले समेत व्यवसायीलाई अप्ठ्यारोमा पारेका छन्।
यी समस्याको समाधानका लागि सम्बन्धित सरकारी निकाय, निर्माण व्यवसायी र सरोकारवाला पक्षबीच समन्वय आवश्यक छ। संघको नेतृत्वमा पुगेपछि यी विषयलाई प्राथमिकताका साथ उठाउनेछु।
प्रश्न ः निर्माण क्षेत्रमा समस्या मात्रै छन् कि सुधारका प्रयास पनि भएका छन् ?
समस्या छन्, तर सुधारका प्रयास पनि भइरहेका छन्। सरकारले हालै ल्याएको सार्वजनिक खरिद नियमावलीले निर्माण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छु। यसले व्यवसायीका केही समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास छ।
राम्रा नीतिगत व्यवस्था र सुधारका प्रयासलाई हामीले स्वागत गर्नुपर्छ। निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक नीतिगत सुधारका पक्षमा हामी सधैँ सकारात्मक छौँ। नियमावलीको प्रभावकारी कार्यान्वयन र व्यवहारमा देखिएका समस्याको समाधान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
प्रश्न ः निर्माण क्षेत्रमा युवाहरूको आकर्षण बढाउन तपाईंको योजना के छ ?
कुनै पनि क्षेत्रमा युवा पुस्ताको आकर्षण भएन भने त्यो क्षेत्र दीर्घकालीन रूपमा टिक्न सक्दैन। निर्माण क्षेत्र पनि यसबाट अलग छैन। अहिले देशका विभिन्न क्षेत्रमा युवाहरूको सहभागिता आवश्यक छ। निर्माण व्यवसायमा पनि ऊर्जावान्, दक्ष र सिर्जनशील युवाहरू आउनुपर्छ।
युवालाई यस क्षेत्रमा आकर्षित गर्न उनीहरूका लागि उपयुक्त वातावरण निर्माण गर्न आवश्यक छ। व्यवसाय सुरु गर्नेदेखि आयोजना सञ्चालन गर्ने र पेसागत रूपमा अघि बढ्नेसम्मका प्रक्रियालाई सहज बनाउनुपर्छ।
संघको नेतृत्वमा पुगेपछि युवाहरूलाई निर्माण व्यवसायमा प्रवेश गर्न प्रोत्साहित गर्ने र उनीहरूका समस्या समाधानका लागि पहल गर्नेछु। उपयुक्त वातावरण निर्माण गर्न नेतृत्वले भूमिका खेल्ने हो, त्यसपछि काम गर्ने जिम्मेवारी युवाहरूको हुन्छ।

प्रश्न ः तीन दशकदेखि निर्माण व्यवसायमा सक्रिय हुनुहुन्छ। आफ्नो कामबाट सन्तुष्ट भएको कुनै विशेष पक्ष छ ?
म आफ्नो कामबाट सन्तुष्ट छु। मैले ठेक्का लिएका आयोजना म्याद थप नगरी निर्धारित समयमै सम्पन्न गरेको छु। समयमै काम सम्पन्न गर्नु र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नु नै मेरो कार्यशैली हो।
मेरो कामको मूल्याङ्कन गर्दै नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले सम्मान गरेका छन्। आफूले गरेको कामको कदर हुँदा स्वाभाविक रूपमा खुसी लाग्छ। ती सम्मानले मलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेका छन्।
निर्माण व्यवसायमा विश्वास सबैभन्दा ठूलो कुरा हो। व्यवसायीले जिम्मेवारी लिएपछि त्यसलाई पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ। मैले आजसम्म गरेको कामप्रति जवाफदेही भएर अघि बढेको छु।
निर्माण व्यवसायको यात्रा कहाँबाट सुरु गर्नुभयो ? आफ्नो अनुभवबारे केही बताइदिनुहोस्।
मैले हेटौँडामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको निर्माणसम्बन्धी कामबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हुँ। त्यसपछि पूर्वमा जनकपुरदेखि पश्चिममा महेन्द्रनगरसम्म विभिन्न स्थानमा निर्माणका काम गर्ने अवसर पाएँ।
चितवनमा पनि नारायणी नदीको तटबन्ध निर्माण, रिउ खोलाको तटबन्ध निर्माणलगायत विभिन्न आयोजनामा काम गरेको छु। लामो समयदेखि यस क्षेत्रमा काम गर्दा निर्माण व्यवसायका अवसर र चुनौती दुवैलाई नजिकबाट बुझ्ने मौका पाएको छु।
मैले जिम्मेवारी लिएर सम्पन्न गरेका कामका विषयमा आजसम्म प्रश्न उठ्ने अवस्था आएको छैन भन्ने मेरो विश्वास छ। निर्माण व्यवसायमा इमानदारी, गुणस्तर र समयपालनलाई प्राथमिकता दिनुपर्छ। यही मान्यताअनुसार मैले आफ्नो व्यावसायिक यात्रा अघि बढाएको छु।
प्रश्न ः अन्त्यमा, निर्माण व्यवसायी संघका मतदातालाई के भन्न चाहनुहुन्छ ?
निर्माण व्यवसायी संघ सबै व्यवसायीको साझा संस्था हो। त्यसैले यसको नेतृत्वले कुनै व्यक्तिको स्वार्थभन्दा समग्र व्यवसायीको हितलाई प्राथमिकता दिनुपर्छ। म नेतृत्वमा पुगेपछि व्यक्तिगत स्वार्थका आधारमा होइन, निर्माण व्यवसायीको हकहित र अधिकार स्थापित गर्ने उद्देश्यले काम गर्नेछु।
हामी निर्माण व्यवसायी देश निर्माणमा योगदान दिने जिम्मेवारी बोकेको वर्ग हौँ। हामीले गरेको कामको उचित पारिश्रमिक लिने हो, तर हाम्रो साझा उद्देश्य देशको विकास र निर्माण नै हो।
त्यसैले सम्पूर्ण मतदातालाई इमानदार, प्रतिबद्ध र निर्माण क्षेत्रको विकासका लागि मन, वचन र कर्मले काम गर्न सक्ने नेतृत्व छनोट गर्न आग्रह गर्दछु। मैले आफूलाई त्यही जिम्मेवारी पूरा गर्न सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेको छु।
मेरो उम्मेदवारीलाई आफ्नो उम्मेदवारीका रूपमा लिनुहोस्। संघलाई सबै व्यवसायीको साझा आवाज बनाउने र उनीहरूका समस्या समाधानका लागि सक्रिय रहने प्रतिबद्धतासहित मलाई मतदान गर्न सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु।



