पोखरा, चितवन र लुम्बिनी जोडेर पर्यटन प्रवर्द्धन गरिने

चितवन, २७ गते । पोखराको प्राकृतिक सुन्दरता, चितवनको वन्यजन्तु तथा जङ्गल सफारी र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई एकीकृत रूपमा प्रवर्द्धन गरी पर्यटन विकास गर्ने उद्देश्यले तीनवटै क्षेत्रका स्थानीय तहले सहकार्य गर्ने भएका छन् ।

पर्यटकलाई एउटै क्षेत्रको भ्रमणमा सीमित नराखी पोखरा, चितवन र लुम्बिनीको भ्रमण गराउने तथा नेपालमा उनीहरूको बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवद्र्धनको अवधारणामाथि छलफल सुरु गरिएको हो ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा तीनवटै स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूले संयुक्त रूपमा पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखराको हिमाली दृश्यावलोकन तथा प्राकृतिक सुन्दरता, चितवनको निकुञ्ज र जंगल सफारी तथा लुम्बिनीको बौद्ध दर्शन, धार्मिक सम्पदा र सांस्कृतिक महत्वलाई एउटै पर्यटकीय मार्गमा जोड्न सके पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

यसबाट आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउनुका साथै पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने सहभागीहरूको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सिल्भर ट्रयाङगल पर्यटन प्रवद्र्धनको अवधारणा केही वर्षअघिदेखि अघि बढाइए पनि विभिन्न कारणले कार्यान्वयनमा ढिलाइ भएको बताउनुभयो । अब तीनवटै क्षेत्रका पर्यटकीय विशेषतालाई एकअर्कासँग जोडेर संयुक्त रूपमा प्रचारप्रसार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

चितवन आउने पर्यटकलाई पोखरा र लुम्बिनीका पर्यटकीय गन्तव्यबारे जानकारी गराएर ती क्षेत्रमा भ्रमण गर्न प्रोत्साहित गरिने उहाँले बताउनुभयो । त्यसैगरी पोखरा र लुम्बिनी पुग्ने पर्यटकलाई चितवनको पर्यटनसँग जोड्न भरतपुर महानगरपालिकाले आवश्यक सहकार्य गर्ने उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासका लागि तीनवटै स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले नेपाल आउने पर्यटकलाई सीमित गन्तव्यको भ्रमणपछि मात्र स्वदेश फर्कने अवस्थाबाट बाहिर ल्याउनुपर्ने धारणा राख्नुभयो ।

“नेपाल आएका पर्यटक पोखराबाट काठमाडौँ हुँदै आफ्नो देश फर्कने अवस्था हुनुहुँदैन । चितवनको जंगल सफारी र लुम्बिनीको सांस्कृतिक महत्वबारे जानकारी लिएर मात्र फर्कने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

पोखरा, चितवन र लुम्बिनीलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रममार्फत पर्यटकीय गतिविधि विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी आउने पर्यटकलाई चितवन र पोखरासम्म पुग्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । तीनवटै पालिकाले सहकार्य गरे यस क्षेत्रको आर्थिक समृद्धिमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

तीनवटै क्षेत्रका पर्यटकीय गन्तव्यको आ–आफ्नै मौलिक विशेषता रहेकाले तिनको एकीकृत प्रचारप्रसार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

धार्मिक तथा सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन र वन्यजन्तु पर्यटनलाई एकै यात्रामा समेट्न सके पर्यटकले नेपालका विविध पक्षको अनुभव लिन सक्ने उहाँको धारणा थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले यस्ता कार्यले उपलब्धी हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले यस्ता कार्य आउदा दिनमा निरन्तरता हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी तथा पर्यटन परिषद् पोखराका अध्यक्ष हरि भुजेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलगायत उद्योगी, व्यवसायी तथा जनप्रतिनिधिहरूले पर्यटन क्षेत्रको विकासका लागि संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले चितवनको पर्यटकीय सम्भावना र प्रवद्र्धनका उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तीन क्षेत्र, तीन विशेषता

सिल्भर ट्रयाङ्गल अवधारणाले नेपालका तीन फरक पर्यटकीय आकर्षणलाई एउटै भ्रमण योजनामा जोड्ने लक्ष्य राखेको छ । पोखरा प्राकृतिक दृश्यावलोकन, हिमाली पृष्ठभूमि र साहसिक पर्यटनका लागि परिचित छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा जंगल सफारी, वन्यजन्तु अवलोकन र प्रकृतिमा आधारित पर्यटनको सम्भावना छ । त्यसैगरी लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल तथा बौद्ध धर्म र दर्शनसँग सम्बन्धित महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्य हो ।

यी तीन क्षेत्रलाई समेटेर संयुक्त पर्यटकीय प्याकेज, प्रचारप्रसार र भ्रमण मार्ग विकास गर्न सके पर्यटकको बसाइ अवधि तथा खर्च बढाउन सकिने पर्यटन क्षेत्रका सरोकारवालाहरूको अपेक्षा छ । यसका लागि स्थानीय तहबिच समन्वय, पर्यटन व्यवसायीको सहभागिता, प्रभावकारी यातायात व्यवस्थापन र एकीकृत प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

शेयर गरौ

ताजा अपडेट