म्याद सकिनु साढे दुई महिनाअघि नै खगेरी खोलाको पुल निर्माण पूरा

शालिग्राम नेपाल ।
चितवन ।
निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दा पनि विकास निर्माणका काम वर्षौंसम्म अलपत्र पर्ने गरेका घटना सार्वजनिक भइरहेका बेला चितवनको इच्छाकामना गाउँपालिका–७ गर्दासस्थित खगेरी खोलाको पुल निर्धारित समयभन्दा साढे दुई महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।
इच्छाकामना गाउँपालिकाको गर्दास क्षेत्रलाई पूर्वी चितवन हुँदै भरतपुर महानगरपालिकासँग जोड्ने ७४ मिटर लामो पुल असोजको दोस्रो सातामै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । पुल निर्माणको अन्तिम म्याद २०८३ मङ्सिर ३० गतेसम्म रहेकोमा त्यसअघि नै निर्माण पूरा भएको हो ।
बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गराएको पुलको सम्झौता २०८२ असार ३ गते भएको थियो । सम्झौताअनुसार २०८३ मङसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्नु पर्ने थियो । निर्माण कार्य असार मसान्तमा नै सम्पन्न भएको थियो । रंगरोकन भने असोजको दोस्रो सातामा पूरा भएको कार्यालय प्रमुख चौधरीले बताउनुभएको छ ।
पुल निर्माणका लागि केबिसी बिल्डर्स कम्पनी प्रालि, भरतपुर–१०, चितवनसँग सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको लागत भ्याटसहित ६ करोड ७८ लाख ३६ हजार ४२४ रुपियाँ २९ पैसा रहेको छ । पुलको चौडाइ फुटपाथसहित ८.४ मिटर छ ।


निर्माण कम्पनीका प्रमुख होमराज आचार्य कुमारले पूर्वाधार कार्यालय र प्रदेश मन्त्रालयको सहयोगले समयमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाले भन्नुभयो पूर्वाधार कार्यालय भरतपुरले हरेक समयमा निगरानीका साथै सहयोगी व्यवहार गर्दै आएको छ । कार्यालयका प्रमुख वीरेन्द्र चौधरीको सहयोगी व्यवहारले गर्दा काम गर्न सजिलो भएको हो ।
कार्यालय प्रमुख चौधरीका अनुसार पुल निर्माणका क्रममा कुनै अवरोध नआएकाले निर्धारित समयभन्दा अगाडि काम सम्पन्न गर्न सम्भव भएको हो । निर्माण सामग्रीको अभावका बीच पनि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएर पुल सम्पन्न गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकास निर्माणका काममध्ये पुल निर्धारित समयभन्दा अगाडि सम्पन्न हुनु हाम्रो लागि गर्वको विषय हो । यस्तो विरलै हुने गर्छ । यस पुल निर्माणमा कुनै अवरोध आएन ।”
स्थानीयवासीले वर्षौंदेखि खगेरी खोलामा पुल निर्माणको आवश्यकता औँल्याउँदै आए पनि निर्माणका लागि ठोस पहल हुन सकेको थिएन । पूर्वाधार विकास कार्यालयका प्रतिनिधिले स्थलगत निरीक्षण गरेपछि स्थानीयको आवश्यकताका आधारमा पुल निर्माणको प्रस्ताव मन्त्रालयमा पेस गरिएको थियो । अध्ययन प्रतिवेदनका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गरेपछि निर्माण प्रक्रिया अघि बढेको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।
पुल निर्माण नहुँदा इच्छाकामना गाउँपालिकाको गर्दास क्षेत्रका स्थानीयलाई कालिका नगरपालिका हुँदै भरतपुर महानगरपालिका पुग्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता थियो । खोलामा पुल नहुँदा करिब ३० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने स्थानीयवासी अहिले पुल निर्माणपछि करिब सात किलोमिटर दूरीमै भरतपुर पुग्न सक्ने भएका छन् ।
दसैँअघि नै पुल निर्माण सम्पन्न भएपछि अहिले पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् । पुल सञ्चालनमा आएसँगै स्थानीयवासीको आवागमन सहज हुनुका साथै इच्छाकामना, कालिका र भरतपुरबीचको सडक सम्पर्कसमेत छोटिएको छ । इच्छाकामना गाउपालिका प्रमुख दानबहादुर गुरुङले भरतपुर महानगरसंग जोडिएको पालिकाको दक्षिणी क्षेत्रमा पुलको अति अवश्यकता रहेको बताउनुभयो । अहिले पुल निर्माणले स्थानीयलाई सहयोग भएको छ । पुल निर्माण भयो , गर्दाससम्म जाने बाटो कालोपत्रे हुदैछ यसले यहाँको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।
निर्धारित समयभन्दा अगाडि पुल निर्माण सम्पन्न हुनुले विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्माण व्यवसायीको कार्यसम्पादनको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

शेयर गरौ

ताजा अपडेट