नारायणी किनारमा करोडौ लगानी भयो स्वाहा

 

चितवन । नारायणी नदीकिनारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बर्सौंदेखि भइरहेको लगानी बाढीको एकै झोक्काले बगाएर बगरमा परिणत भएको छ । नारायणी नदीमा बाढी आउन सक्ने सम्भावित आकलनबिना नै योजना अघि सारिँदा असोज ११ गतेको बाढीले करोडौँ लगानी अहिले बालुवा र पानी बनाएको छ ।

नारायणगढको लीला चोकदेखि पुल्चोकसम्मको नदीकिनार बाढीले क्षतिग्रस्त बनाएको छ । बनाएको संरचना सबै बगाएको छ । स्थानीय ईश्वर जोशी कतिपय स्थानमा नदीले एक मिटरसम्म किनार कटान गरेर बगाएको बताउनुहुन्छ । “साँझपख मानिसको बाक्लो चहलपहल हुने, बिहानबेलुका पैदलयात्रा गर्ने, बालबालिका खेल्ने तथा चितवन महोत्सवलगायतका मेला महोत्सव र विभिन्न कार्यक्रम आयोजना हुने नारायणी किनार अहिले बाढीले कुरूप बनाएको छ,” उहाँले भन्नुभयो ।

चार वर्षअघि सङ्घीय सरकारको बजेटमा नारायणी नदी नियन्त्रण आयोजनामार्फत नदी किनारमा सिबिज निर्माण गर्न करिब १५ करोड रुपियाँ खर्च भएको थियो । यही स्थानमा भरतपुर महानगरपालिकाले फुटपाथ निर्माणका लागि एक करोड रुपियाँ र दुबो रोप्न मात्रै सात लाख रुपियाँ खर्च गरेको थियो । बागमती प्रदेश सरकारले २५ लाख रुपियाँ खर्च गरेर बोल्डर ढुङ्गा राखेको थियो ।

यस्तै दुई वर्षअघि चितवन महोत्सव आयोजना गर्ने क्रममा नदी किनार सम्याउन मात्रै करिब ३५ लाख रुपियाँ खर्च भएको तत्कालीन महोत्सव मूल समारोह समितिका संयोजक सुमनकुमार श्रेष्ठ बताउनुहुन्छ तर अहिले भएको क्षतिले नदी किनार विकासमा गरिएको लगानीको दिगोपन र जोखिम मूल्याङ्कनमाथि प्रश्न उठेको छ ।

नारायणगढमा २०१९ सालदेखि बस्दै आएका स्थानीय समाजसेवी प्रभातकुमार जोशी नदी किनारको विकासलाई प्रकृतिमाथिको खेलबाडका रूपमा लिनुहुन्छ । “यो प्रकृतिमाथिको खेलबाड थियो । बिनागुरुयोजना काम भयो । विज्ञले गरेको काम भन्छन् तर के गरे गरे जस्तो भयो,” उहाँले भन्नुभयो, “२०२१ सालदेखि निरन्तर बाढी आइरहेको छ । बाढी आउने ठाउँमा योजना बनाउनु नै गलत थियो ।”

जलमापन केन्द्र देवघाटका अनुसार असोज ११ गते नारायणी नदीमा पानीको सतह अधिकतम ११।९ मिटर पुगेको थियो । यो हालसम्मकै उच्च सतह हो । समाजसेवी जोशी नदी किनारमा गरिएको विकास निर्माणका काम बाढीले क्षति पु¥याएपछि ‘प्रकृतिको आकलनबिनाको विकास’ भनेर टिप्पणी गर्नुहुन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार यस वर्ष पनि चितवन महोत्सव आयोजना हुँदै छ । बाढीले क्षतिग्रस्त नदी किनारलाई पुनः सम्याएर महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

यद्यपि नारायणी नदी तटबन्ध आयोजनाका प्रमुख डा. नारायण सुवेदी भने अहिलेको क्षतिलाई मात्र आधार बनाएर विगतका विकासनिर्माणलाई ‘आकलनबिनाको योजना’ भन्न हतार हुने तर्क गर्नुहुन्छ । तत्कालीन अवस्थाको आवश्यकता र जोखिमलाई ध्यानमा राखेर सिबिज निर्माण गरिएको उहाँको दाबी छ । नारायणी नदी नियन्त्रणका लागि गरिएका कामकै कारण नारायणगढ बजारको अस्तित्व सुरक्षित रहेको धारणा उहाँको छ । “यो योजना नै हुँदैनथ्यो भने अहिले नारायणगढ बजार रहन्थ्यो कि रहँदैनथ्यो भन्ने कोणबाट पनि समीक्षा गर्न जरुरी होला,” डा। सुवेदीले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट