हेटौंडा ३१ असार । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनु भएको छ ।
रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनु भयो । मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई विश्वास गरेर सुम्पनु भएको जिम्मेवारी इमान्दारी पूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उहाको भनाइ छ ।
पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उहाले बताउनु भयो । मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गर्नुभए पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उहाको धारणा छ ।


