चितवन ३ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर संकलन गर्ने ढाटमा आज सर्वसाधारणले आगो लगाएका छन् । आगो नियन्त्रणका क्रममा एकजना प्रहरी सहायक निरीक्षक गम्भीर घाईते हुनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०र४० जनाको सख्यामा आएका व्यक्तिले पेट्रोल छर्किएर ढाटमा आगो लगाएको थियो । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहिँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाईते हुनु भएको हो । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । घाईते खड्काको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
आगलागीबाट ढाटमा रकम संकलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । पूर्वी चितवनवासीले यस अघिनै सो ठाउँबाट ढाट हटाउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।
उक्त ढाट हुँदै पर्यटकीय नगरी सौराहा लगायत पूर्वी चितवनका रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकावासी सदरमुकाम भरतपुर आवतजावत गर्ने गर्दछन् ।ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।


