आज देशभर खपत हुनेछ ८० लाख लिटर दूध

काठमाडौँ  ।  नेपाली संस्कृतिमा हरेक वर्ष साउन १५ गते  खीर खाने चलन छ। दूध प्रशस्त हुने भएकाले असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने चलन नेपाली स‌ंस्कृतिको अङ्ग नै बनेको छ।

गाउँघरमा परम्पराको रूपमा रहँदै आएको खीर खाने चलनलाई पछिल्लो पुस्तामा पनि विस्तार गर्न नेपाल डेरी एसोसिएसनले कार्यक्रम गर्दै आएको छ।

साउन १५ मा देशभर लाखौँ लिटर दूधको कारोबार हुने गरेको छ। ‘विभिन्न कार्यालय, विद्यालय लगायतका धेरै क्षेत्रमा खीर खाने चलन बढेको छ, एसोसिएसनका अध्यक्ष प्रह्‍लाद दाहाल भन्छन्, ‘यसले दूधको खपत पनि दोब्बर बढाएको छ। साउन १५ का दिन मात्रै करिब ८० लाख लिटर दूध खपत हुने आँकडा निकालिएको छ। करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेका छौँ।’

उनका अनुसार हाल देशभर दैनिक ७२ लाख लिटर दूध उत्पादन हुने गरेको छ। त्यसको आधा अर्थात् ३६ लाख लिटर दूध बजारमा आउँछ। ‘औपचारिक बजारमा आउने दूधको दोब्बर बढी करिब ८० लाख लिटर दूध साउन १५ गतेका दिन खपत हुने पछिल्ला तथ्याङ्कका आधारमा अनुमान गरेका छौं’ अध्यक्षले दाहालले भने।

बजारका हिसाबले काठमाडौँ उपत्यकामा ५० र बाहिर ५० प्रतिशत दूधको कारोबार हुने गरेको उनले जानकारी दिए। यो हिसाबले साउन १५ खीर खाने दिन काठमाडौंमा सरदर खुल्ला र प्याकेटको दूध गरेर ४० लाख दूध खपत हुने अनुमान गरिएको छ।

नेपालमा सबैभन्दा बढी ताजा दूधकै खपत हुने गरेको छ भने त्यसपछि दहीको बढी माग रहेको छ। यस्तैगरी मिठाई लगायतका अरु उत्पादनका लागि दूधको खपत हुने गरेको पाइएको छ।

नेपालमा पछिल्लो समय दूध तथा दुग्ध पदार्थको सेवन केही घटेको अध्यक्ष दाहालले बताए। उत्पादन र खपतको अनुपात नमिलेर दूध बढी भएको बताउँदै उनले एसोसिएसनले खपत बढाउन प्रवर्धनका कार्यक्रम गरिरहेको जानकारी दिए।

एसोसिएसनले दूध तथा दुग्ध पदार्थ सेवन गर्नुपर्छ भनेर विद्यालयका बालबालिकादेखि विभिन्न क्षेत्रमा गएर चेतनामूलक कार्यक्रम गरेको छ भने अनिवार्यरूपमा घ्यू सेवन गर्नुपर्छ भन्दै ‘घ्यू अभियान’ चलाइरहेको छ।

‘यसका बाबजुद उत्पादन र खपतको अनुपात हेर्दा अहिले करिब दैनिक दुई लाख लिटर दूध बढी भएको देखिन्छ। तर त्यसलाई धूलो बनाएर राखिन्छ। यसरी बनाइएको पाउडर दूध असार १५, साउन १५, साउने सोमबार र तीजको दर खाने दिनजस्ता बढी खपत हुने दिनलाई लक्ष्य गरी बजारमा ल्याउने गरिएको छ’, अध्यक्ष दाहालले भने।

तर उपभोक्तामा पाउडर दूध मिसावटयुक्त हुने भएकाले खान हुँदैन भन्ने भ्रम रहेको पाइन्छ। ‘तर त्यस्तो होइन, पाउडर दूध पनि दूध बाटै ड्राई गरेर बनाइएको हुन्छ। यो ढुक्क भएर खानयोग्य छ भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ’, उनले भने।

कोभिडअघि नेपाल दूधमा लगभग आत्मनिर्भर बन्ने अवस्थामा पुगेको थियो। तर कोभिड पछाडि विभिन्न कारणले गर्दा त्यो अवस्थाबाट केही पर रोकिएको देखिन्छ।

‘शहरबाट गाउँ फर्किनेहरू बढेपछि उपभोग घटेको छ, ठूला कार्यक्रम आयोजना कमै हुन्छन्।  यस्ता विविध कारणले गर्दा दूध बढी भएको देखिएको हो’, उनले भने, ‘तर वातावरण अनुकूल बन्दै गएमा हामी केही समयमै दूधमा आत्मनिर्भर बन्न सक्छौँ।’

मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग बने सँगै पहाडबाट बजारमा आउन नसकेको ५० प्रतिशत दूध पनि विस्तारै बजारमा आउन थालेको छ। तर सबै ठाउँमा बालबालिकाले नै दूध उपभोग गर्न पाएका छैनन्।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने मुलुकको राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदानको ८ प्रतिशतभन्दा बढी योगदान दिएको दुग्ध क्षेत्रमा ५ लाख भन्दा बढी मानिसले रोजगारी पाएका छन्।

दुग्ध क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा समेत लिने गरिन्छ। खुल्ला सिमाना लगायतका कारण भारतबाट आइरहेका सस्तो दूध तथा दुग्धजन्य पदार्थका कारण नेपाली उत्पादनको बजारलाई प्रभावित पारिरहेको छ।

तथापि नेपालबाट दुग्धजन्य पदार्थहरू निर्यात भइरहेको अवस्थाले यहाँको उत्पादन बाह्य मुलुकमा पनि रुचाइएको देखिन्छ। नेपालबाट विशेषगरी छुर्पी, चिज, घ्यू र बटर भारत, जापान र अमेरिका का साथै, युरोपीय देशहरूमा समेत पुग्ने गरेका छन्।

भन्सार विभागको तथ्यांक हेर्दा, गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको देखिन्छ। अघिल्लो वर्ष २०७९/८० मा १७ लाख ८६ हजार किलो, २०८०/८१ मा ३ अर्ब १८ करोड रूपैयाँको १६ लाख ४७ हजार किलो छुर्पी नेपालबाट विदेशमा निर्यात गरियो।

यसैगरी २०७७/७८ मा १ अर्ब ९६ करोड, २०७८/७९ मा २ अर्ब ९१ करोड, २०७९/८० मा ३ अर्ब ४० करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ।

किन खाने दूध ?

दूधमा प्रोटिन, क्याल्सियम, भिटामिन डी, भिटामिन बी १२, पोटासियम र फस्फोरस जस्ता महत्त्वपूर्ण पौष्टिक तत्व पाइन्छ।

दूधमा पाइने तत्त्वहरूले हड्डी र दाँतलाई बलियो बनाउन, मांसपेशीको विकास गर्न, र समग्र शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ पार्न मद्दत गर्ने भएकाले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेरका मानिसले दूध सेवन गर्नसक्ने जानकार बताउँछन्।

शेयर गरौ

ताजा अपडेट