माडी मौलिक संस्कृति उत्सवको तयारी तीव्र, जेठ १५ मा बसन्तपुरमा भव्य आयोजना हुने

चितवन, जेठ १३ —

माडीमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव–२०८३” को तयारी तीव्र पारिएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिका को प्रवर्द्धनमा आगामी जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा उत्सव सञ्चालन हुने भएको हो ।

उक्त उत्सवबारे जानकारी दिन आज भरतपुरस्थित उद्योग संघ चितवनको सभाहालमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । आयोजकका अनुसार माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटा ले माडीमा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र संस्कृतिलाई एउटै मञ्चमा जोडेर आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप मजबुत बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयासस्वरूप उत्सव आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी तारा कुमारी काजी महतो ले माडीको मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै उत्सव सफल बनाउन सम्पूर्ण माडीवासी तथा सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले माडीको सांस्कृतिक विविधता नै यसको विशेषता भएकाले संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उप–नगर प्रमुख खेमप्रसाद महतो ले स्थानीय कला, संस्कृति र सामाजिक एकतालाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले माडीको मौलिक पहिचान जोगाउँदै सांस्कृतिक एकताको सन्देश प्रवाह गर्न उत्सव महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले उत्सव सम्पूर्ण माडीवासीको साझा कार्यक्रम भएको बताउँदै बाहिरबाट आउने पाहुनाको बसोबास व्यवस्थापनमा स्थानीयवासीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले माडीको आतिथ्यता, संस्कार र सद्भाव प्रस्तुत गर्ने अवसरका रूपमा उत्सवलाई लिनुपर्ने बताउनुभयो ।

आयोजकका अनुसार उत्सवमा थारु समुदायका विभिन्न ८ थरी सांस्कृतिक प्रस्तुति रहनेछन् भने मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई, दराई लगायत १२ वटा जनजातिका सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ । साथै दलित समुदायको पञ्चेबाजा र सारङ्गी, ब्राह्मण–क्षेत्री समुदायको स्वस्तिवाचन तथा भजन, स्थानीय कलाकार तथा विद्यालयस्तरीय लोकदोहोरी गायन र नृत्य पनि मुख्य आकर्षणका रूपमा रहनेछन् ।

उत्सवअघि मौलिक झाँकीसहित बसन्तपुर बजार परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ । यसैगरी विभिन्न जातजातिका मौलिक परिकार समेटिएको “मौलिक खाना पर्व” पनि आयोजना गरिनेछ । कार्यक्रममा माडीका परम्परागत माछा तथा दुग्धजन्य परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट