चितवन ।
गणतन्त्र दिवस २०८३ को अवसरमा चितवन जिल्लामा क्रियाशील राजनीतिक दलहरूले संयुक्त रूपमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। गणतन्त्र दिवसको सन्दर्भमा आज जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमार्फत दलहरूले कार्यक्रमलाई भव्य रूपमा मनाउन सम्पूर्ण जिल्लावासीलाई आह्वान गरेका हुन्।
विज्ञप्तिमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरिएको छ। साथै, देशका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
दलहरूले २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरेको ऐतिहासिक निर्णयलाई नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको परिणामको रूपमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा लोकतान्त्रिक उपलब्धिको संरक्षण, सुशासन, विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ। गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमजोरीहरू सुधार गर्दै जनताको विश्वास जित्न राजनीतिक दलहरू प्रतिबद्ध रहेको समेत जनाइएको छ।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते बिहान ७ बजे भरतपुर–१० स्थित चौबिसकोठीबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ। त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा विशेष कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, पेशाकर्मी तथा सर्वसाधारणलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका चितवनका सभापति कृष्णप्रसाद भुषाल , नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनाल , नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक , नेपाली कम्युनिष्ट पार्टि चितवनका अध्यक्ष नरेन्द्र कन्दङवाले हस्ताक्षर गरेका छन् ।


