माडी मौलिक सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न

 

माडी, जेठ १६ —

चितवनको माडीमा विविध जातजाति, भाषा, संस्कृति र परम्पराको अनुपम संगमका रूपमा आयोजित ‘माडी मौलिक सांस्कृतिक उत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा बसन्तपुर बजारस्थित खुला चौरमा सम्पन्न उत्सवमा हजारौं नागरिकको सहभागिता रहेको थियो।

उत्सवले माडीका विभिन्न समुदायका मौलिक कला, संस्कृति, भेषभूषा, भाषा र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रमअघि बसन्तपुर बजारमा विभिन्न जातजातिको मौलिक पहिचान झल्काउने झाँकीसहित सांस्कृतिक र्‍याली निकालिएको थियो। परम्परागत बाजागाजा, जातीय पहिरन र सांस्कृतिक प्रस्तुतिले बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो।

उत्सवको शुभारम्भ ब्राह्मण–क्षेत्री समुदायको स्वस्तिवाचन तथा भजन–कीर्तनबाट गरिएको थियो। कार्यक्रममा थारु समुदायका विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति सहित मगर, तामाङ, नेवार, गुरुङ, चेपाङ, राई, दराई, दुरा लगायत १२ भन्दा बढी जातजातिका रैथाने संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो।

दलित समुदायको पञ्चेबाजा, स्थानीय कलाकारहरूको लोकदोहोरी तथा विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक नृत्यले दर्शकको मन जितेको थियो। कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो।

उत्सवस्थलमा राखिएका १४ वटा व्यापारिक तथा प्रवर्द्धनात्मक स्टल पनि आकर्षणको केन्द्र बनेका थिए। स्टलमा स्थानीय परिकार, रैथाने माछा, दुग्धजन्य उत्पादन, हस्तकला सामग्री तथा होमस्टे प्रवर्द्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। ‘मौलिक खाना पर्व’मा सहभागीहरूले माडीका परम्परागत स्वादको अनुभव गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले माडीको सांस्कृतिक विविधता नै यसको मुख्य सम्पत्ति भएको बताउँदै संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटाले विभिन्न समुदायबीच आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले उत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्नुका साथै पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उत्सवमा प्रदेश सांसद ठाकुरप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले माडीको इतिहासमै विविध समुदायलाई एकै मञ्चमा जोडेर आयोजना गरिएको यो पहिलो बृहत् सांस्कृतिक उत्सव भएको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार उत्सवले माडीको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गरौ

ताजा अपडेट