जनक शिक्षा भरतपुरबाट १९ करोड २० लाख रुपैयाँकोपाठ्यपुस्तक बिक्री

 

तीर्थ नेपाल

चितवन, जेठ १३ — जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, बागमती प्रादेशिक कार्यालय भरतपुर–चितवनले चालु शैक्षिक सत्रका लागि सात जिल्लामा ठूलो परिमाणमा पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार २०८२ चैत १६ गतेदेखि २०८२ जेठ १२ गतेसम्म कक्षा ३ देखि १२ तथा अनुवाद पाठ्यपुस्तक गरी कुल १३ लाख ९२ हजार ७७५ थान पुस्तक बिक्री भएको छ । यसबाट १९ करोड २० लाख २१ हजार ६१७ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको जनाइएको छ ।

सबैभन्दा बढी पुस्तक बिक्री रौतहट जिल्लामा भएको छ । त्यहाँ कक्षा १ देखि १२ सम्मका ३ लाख ३४ हजारभन्दा बढी पुस्तक बिक्री हुँदा ४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

चितवन, मकवानपुर, बारा, पर्सा, पूर्वी नवलपरासी तथा पूर्वी तनहुँ जिल्लामा समेत उल्लेख्य परिमाणमा पुस्तक बिक्री भएको कार्यालयका निमित्त प्रमुख केदारराज बिष्टले जानकारी दिए ।

सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पाठ्यपुस्तकका लागि जनक शिक्षाले पुस्तक छापेर जिल्लागत रूपमा वितरण गर्दै आएको छ । जिल्लास्थित विक्रेतामार्फत विद्यालयसम्म पुस्तक पुग्ने व्यवस्था रहेको छ ।

शेयर गरौ

ताजा अपडेट