गैंडाको मृत्युको कारण पत्ता लगाउन आएको टोलीले सक्यो अध्ययन

 

चितवन, २३ साउन । गैंडा मृत्युको कारण पत्ता लगाउन आएको टोलीले चितवन निकुञ्जमा आएर अध्ययन गरेको छ ।
चारदिन लगाएर अध्ययन गरेको टोली आइतबार सरोकारवालासंग सुझाव संकलन गरेर काठमाण्डौं फर्केको छ । संरक्षित एकसिंगै गैडा चितवन निकुञ्जमा मर्ने क्रम वृद्धि भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पाँच सदस्यीय टोली अध्ययनको लागि गठन गरेको थियो । चारदिन अगाडि आएको टोलीले गैंडाको वासस्थान भएको निकुञ्जको विभिन्न स्थानमा स्थलगत अध्ययन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा समितिका संयोजक बेदकुमार ढकालले गैंडा मर्नुको कारणबारे अध्ययन गरेको छ बताउनु्भयो । गत आर्थिक वर्षमा चोरी शिकारीको कारण दुइवटा र अन्य कारणले दुइवटा गरी ३७ वटा गैंडा एक वर्षमा मरेका छन् । निकुञ्जमा प्राकृतिक कारणले एक वर्षमा ३३ वटा गैंडा मरेका थिए । नेपालमा धेरै वासस्थान भएको चितवन निकुञ्जमा जुधेर, विरामी भएर, बुढो भएरलगायतको कारणले गैडा मर्नेको सख्या धेरै रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
गैंडाको मृत्युदर घटाउन र गैरकानूनी तरिकारले हुने अंग–प्रत्यंगको ओसार–पसार तथा खरीद बिक्रीलाई अन्त्यसगैँ गैडा संरक्षणका लागि नयाँ रणनीतिसहित एकसाता भित्र प्रतिवेदन सार्वजनिक गर्ने समितिका संयोजक ढकालले बताउनुभयो ।
‘गैंडाको अस्वाभाविक मृत्युदर, चोरी सिकारी नियन्त्रणमा भैरहेका कामलगायतका विषयमा विस्तृत अध्ययन गर्ने कार्यादेश छ’ ढकालले भन्नुभयो, ‘गैंडाको संरक्षणमा हाल भएको प्रभावकारिता, संरक्षणमा भइरहेका चुनौती र भविष्यमा यसलाई कसरी गैंडाको मृत्युदरलाई घटाउन सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन र सुझावसहित प्रतिवेदन आउनेछ ।’
चोरी सिकारीबाट गैंडाको मृत्यु अघिल्लो वर्षभन्दा कम भएको तर प्राकृतिक मृत्युदर बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । अहिले बाघको पनि सख्या बढेको छ, संरक्षण प्रभावकारी भए पनि प्राकृतिक रुपमा हुने घटनाको अध्ययन भईरहेको छ । साथै संख्या धेरै हुँदा मृत्युदर बढ्नु स्वाभाविक देखिने रहेको बताउदै प्रमुख आचार्यले भाले गैंडाको स्वभाव अर्को भाले देखेपछि जुध्ने र मृत्यु हुने अवस्थासम्म पुग्ने गरेको जानकारी गराउनुभयो ।
टोलीले आइतबार मध्यवर्ती सामाुदायिक वनका अध्यक्षहरुm संरक्षणकर्मी, स्थानीयवासी र सरोकारवालासंग सुझाव समेत लिएको छ । अवसरमा स्थानीयहरुले घाईते गैंडालाई समयमानै उपचार, राहत र उद्दारको व्यवस्था, बालीनाली क्षतिमा उचित राहत, वन्यजन्तुमैत्री विकास निर्माणमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
यस्तै कडा विषादीहरुको प्रयोगका कारण गैंडा मर्ने गरेको र मानिसमा पनि रोगब्याधी लाग्ने गरेको र तटवन्ध निर्माण गरी नदीलाई डाईभर्ट गर्दा घोलहरु सुकेको समेत गैडा संकटमा परेको सुझाव दिएका छन् । माईकेनिया र कालिकाठ जस्ता प्रजातीका वनस्पति बढ्दै गएकोले गैडालाई आहारमा कमी भएको समेत सुझाएका छन् ।
चितवन निकुञ्जमा पछल्लो समयमा गैंडाले मन पराउने घाँसे मैदान घटेका छन् भने पानीका घोल, ताल तलैयाजस्ता आश्रयस्थलको अवस्था खस्कदो छ । गैंडाले रुचाउने घाँसको मात्रा घटेको छ भने, उसले नखाने माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजाति बढिरहेको छ । विज्ञहरू मिचाहा प्रजातीले नै गैंडालाई चुनौती थपिएको संरक्षणकर्मीले बताएका छन् ।
ढकालसहित नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा.शान्तराज ज्ञवाली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकै सहायक इकोलोजिस्ट हेमराज आचार्यले गैंडाको अस्वाभाविक मृत्युदर, चोरी सिकारी नियन्त्रणमा भैरहेका काम लगायतका विषयमा विस्तृत अध्ययन गरेका थियो ।
नदी तटीय क्षेत्रमा रमाउने गैंडाले बढीजसो काँस रुचाउँछ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्मुख डा. बाबुराम लामिछानेले भन्नुभयो, पानीका घोलमासिदै र बढिले गर्दा पनि घाँसे मैदान बगरमा परिणत हुदाँ गैडाको आहारमा समस्या देखिएको छ ।
०७५÷७६ मा सबैभन्दा धेरै ४३ गैंडा मरेपछि निकुञ्ज विभागका पूर्व महानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा एउटा विज्ञ टोली गठन गरेको थियो । ०७७ कात्तिकमा सहायक संरक्षण अधिकृत ऋषि रानाभाट संयोजकत्वमा एक समिति गठन गरिएको थियो । सो समितिको प्रतिवेदनका आधारमा संसदीय समितिसमेत अध्ययनका लागि आएको थियो ।
समितिले पश्चिमी सेक्टरमा गैंडाको अधिक चापलाई कम गराउन पूर्वी क्षेत्रमा केही गैंडा सिफ्ट गर्न, बाढीबाट जोगाउन केही ठाउँमा माटोका अग्ला पहाड बनाउन, बर्खामा जान नसकिने पोष्टहरूलाई स्थायी प्रकृतिको बनाउन, सुरक्षा गस्ती बढाउन लगायतका सुझाव दिएको थियो ।
बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान मासिँदै गएका छन ।
निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणना अनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन । यी मध्ये ६९४ चितवनमा रहेका छन् । यो संङख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए ।
चितवन निकुञ्जले गैंडा, पाटे बाघ, निलगाइलगायतका केही संरक्षित जनवारको मात्र गणना गर्दै आएको छ । अन्य जनवारको पनि सख्याको विषयमा जानकारी राखेपनि आवधिक रुपमा अन्य जनावरको गणना भने गर्ने गरेको छैन । गत आर्थिक वर्षमा गैंडा सहित अन्य जनावरहरुपनि मरेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार गैंडा ३७, अर्ना १०, पाटे बाघ ६, चितुवा एक, चित्तल ८६, भालु एक, लिनगाइ दुइ, गौरीगाइ एक, घडियाल गोही चार वटा लगायतकका जनावर एक वर्षमा २०५ वटा मरेका छन् ।

 

शेयर गरौ

ताजा अपडेट