फुर्सदको समय : बेफुर्सदिला महिला

–प्रतिमा सिलवाल
कोरोना महामारीको कारण बन्दाबन्दी सुरु भएको लगभग २ हप्ताजति पछि मेरो मिल्ने साथीसँग कुरा भयो । कुराकानीको सुरुमै उसले भनी, – बल्ल घर खाछेस् हैन ? सुरुमा त कुरा बुझिनँ । के भन्छे ? प्रतिप्रश्नमा उसले प्रष्ट्याई, – बन्दाबन्दीले गर्दा लामो समय बल्ल घर बसेकी छस् नि त !
हाम्रो समाजमा विवाहपछि एउटी बुहारीको लागि समाजले तोकिदिएका भूमिका छ । जानेपनि नजाने पनि ऊ ती भूमिकामा निपूर्ण हुनैपर्छ । बुहारी भइसकेपछि महिलाले तोकिएका जिम्मेवारी पूरा गरिन भने ‘घर खान नसकेकी’ बुहारी ठहरिन्छे ।
पारिवारिक भूमिका निभाउन सकिन भने परिवारको अपहेलनामा पर्नु अधिकांश नेपाली महिलाको नियती हो । त्यसपछि उसको पारिवारिक स्थितीमा उल्झन् अनि महिलाको घर बिहीनताको स्थिति अहिलेपनि अध्ययन गर्दा भयावह छ ।
त्यसैले, बन्दाबन्दीले परिवारसँगै बस्न पुगेको मलाई साथीले त्यही प्रतिकात्मक प्रश्न सोधेकी हो । यस्ता प्रश्न आम नेपाली बुहारीको लागि सामान्य पनि हो । उसले मसँग जति प्रश्न गरि त्यो उसको लागि पनि बराबरी प्रश्न हो । उ पनि मजस्तै विवाहपछि जागिरको सिलसिलामा धेरै समय घर बाहिर नै बिताएकी छ ।
मैले पनि हाँस्दै जवाफ फर्काएँ, ‘तँलै पनि ।’ उसले पनि मैले जस्तै सामान्य रुपमा ग्रहण गरेर हाँसिदिई ।
यो बन्दाबन्दीको समयमा स्कूलका, गाउँका, कलेजका, जागिरका साथीहरुका छुट्टाछुट्टै ग्रुप बनाइयो । म्यासेन्जर ग्रुपमा भिडियो कल भयो । आ–आफ्ना कुराहरु शेयर गर्ने माध्यम पनि बन्यो सोसल मिडिया । सोही क्रममा विवाहित (मेरा उमेरका अधिकांशको विवाह भइसकेको छ) महिला साथीहरुको दैनिकी मिल्दोजुल्दो रहेछ ।
सामान्यतया परिवारको महिलाको काम बिहान ५ देखि ६ बजेकोबीचमा उठ्ने । घरको सरसफाइ, पूजाआजा अनि परिवारका सदस्यलाई चिया तयार गर्ने । त्यसपछि खाना बनाउने, कपडा धुने, खाजा बनाउने, खुवाउने बच्चाको रेखदेख, बेलुकाको खाना बनाउने खुवाउने अनि सरसफाइ ।


‘बन्दाबन्दीे त झनै दिक्क बनायो । घरमा सबैलाई फूर्सद छ काम केही त छैन भन्दै केटामान्छेको काम खाने र मोबाइल समाएर कुना पस्दैमा बित्छ’ एकजना आफन्तले कामको बोझ थपिएको सुनाउँदै भन्नुभयो, ‘अरुबेला बरु अफिस गइन्थ्यो । हतार हुन्थ्यो । एक अर्कामा मिलेर काम गरिन्थ्यो । अहिले ती सबै काम एक्लैको काँधमा आएको छ ।’
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना कहरका कारण हामी चैत ११ यता बन्दाबन्दीमा छौं । अर्थात्, घरभित्रै सुरक्षित बसिरहेका छौं । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द छन् । देशको जनसंख्याको धेरै हिस्सा घरभित्रै छ । शहरमा बस्ने गाउँ फर्किएका छन् । जागिरेहरु घरमा छन् । अर्थात्, दुईमहिना भन्दा बढी समयदेखि परिवारका सबैजसो सदस्य घरमा छ ।
परिवारका सबै सदस्य घरभित्रै हुँदा कामको बोझ एकजनालाई मात्रै पर्न हुँदैन थियो । भएका काम पनि मिलिजुली गर्ने हो भने सबै सदस्यले बराबरी आराम, मनोरञ्जन गर्ने समय पाउँथे । तर, हाम्रो सामाजिक संरचनाले त्यसो भन्दैन । अझ भनौं केही प्रतिशत बाहेक अधिकांश परिवारभित्र भएसम्म बुहारी वा महिला सदस्यले भातभान्छा सरसफाई गर्नैपर्छ भन्ने स्थापित भ्रम छ । त्यही कारण परिवारमा महिलालाई कामको बोझ थपिएको छ ।
भारतमा बन्दाबन्दी सुरु भएको लगभग दुई सातापछि गएको अप्रिल दोस्रो साता ट्वीटर अकाउन्ट इटाइम्स लाइफस्टाइलले गरेको भोटिङ पोलले महिलालाई बन्दाबन्दीले कामको बोझ थपेको देखाएको थियो । उक्त पोलमा भोट गर्नेमध्येमा ६१ प्रतिशतले सहभागीले महिलालाई बन्दाबन्दीको समयमा कामको बोझ र तनाब बढेको जनाएका थिए ।
नेपालमा पनि यही स्थिती रहेको तथ्य बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले गरेको एक सोसल मिडिया सर्वेक्षणले पुष्टि गरेको छ । दुई हजार १४ जना सहभागीसँग गरिएको उक्त अध्ययनले बन्दाबन्दीको समयमा ५४ प्रतिशत महिलाले मनोसामाजिक समस्या भोगेका देखाएको छ । भने, हरेक चार जनामा एक महिलाले बन्दाबन्दीको समयमा कार्यबोझ पहिले भन्दा बढी भएको बताएका थिए ।
लैंगिक रुपमा हेर्ने हो भने घरायसी काममा महिलालाई भार बढी हुनुको अर्थ नेपालमा अझै पनि असमान लैंगिक सामाजिक सम्बन्धको दायर निकै फराकिलो छ । सामाजिक रुपमा परिवर्तन भइसकेको छैन । कानूनले कहीँ कतै निश्चित प्रकारका काम महिलाले मात्रै गर्नु भनेको छैन । न त हाम्रा धार्मिक ग्रन्थहरुले नै घरको भातभान्छा महिलाको मात्रै जिम्मामा हो भनेको छ । तर, समाजमा स्थापित असमान शक्ति सम्बन्धले महिलालाई घरभित्रको ‘बिना पारिश्रमिकको मजदुर’ बनाइदिएको छ ।
नेपालको संविधानले (धारा ३८ (३) ‘महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनेको छ । संविधानको उक्त व्यवस्था कार्यान्वयन गर्न लैंगिक समानता कायम गर्न बनेको ऐन, मूलुकी देवानी तथा अपराध संहिता लगायतले पनि समानताका व्यवस्था गरेका छन् ।
कानूनले व्यवहार परिवर्तन गर्न सक्दैन । व्यवहार परिवर्तन गर्न त व्यक्तिको चेतनास्तर माथि उठ्नुपर्छ । महिलालाई तोकिएका काम गर्नैपर्छ भन्ठान्ने व्यवहार परिवर्तन गर्न परिवारमा सबैको हैसियत समान हुनुपर्छ । हरेक घरका पुरुष हुर्काउँदा नै सदस्यलाई भान्छामा पस्दा लाजले रातोपिरो नहुने शिक्षा दिनुपर्छ । लोग्नेले श्रीमती भइन्जेल मैले किन लुगा धुने ? भन्ने धारणा राख्नु हुन्न ।
नेपाली परिवारमा घरको कामलाई ठूलो ठानिदैन । तर, देख्दा ‘सानो’ ठानिने घरको कामले महिलाहरुको उत्पादनशील समयलाई कसरी उल्झाइरहेको छ कमैले मात्रै आँकलन गर्छन् । अधिकारकर्मी रेणु अधिकारीका अनुसार असमान सामाजिक सम्बन्धका कारण महिलाहरुमा कामको बोझ बढी हुने गरेको हो ।
यही कारणले नै महिलाहरु हिंसाजन्य जोखिममा पर्ने गरेका छन् । महिला अधिकार, पुर्नस्थापना तथा न्यायको लागि काम गर्दै आएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले गएको चैत ११ गतेदेखि बैशाख १९ गतेसम्म मात्रै आफ्ना सेवाकेन्द्रहरुमा १ सय ३ वटा घरेलु हिंसाको उजुरी आएकोे जनाएको छ ।


गत बैशाख २२ गते जारी विज्ञप्ती अनुसार हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ७८ जना श्रीमान् छन् । भने ३७ जना परिवारको सदस्य छन् । यसको अर्थ कामको बोझसँगै महिला थप हिंसामा पनि परेका छन् ।
देशको जनसंख्याको आधाभन्दा पनि बढी संख्या ओगटेका जनशक्ति अनुत्पादनशील हुनु भनेको दीर्घकालमा देशको आर्थिक वृद्धिदरमा कमी आउनु हो । घरभित्रको वातावरण मात्रै महिलाका लागि समान भइदिने हो भने उनीहरुको योगदान घरबाहिर पनि बराबरी देखिन सक्छ । उत्पादनशिल काममा उनीहरुले आफ्नो दक्षता देखाउन सक्छन् । अझ योे बन्दाबन्दीले ल्याएको फूर्सदको समय पुरुषहरुको लागि आफूलाई परिवर्तन गर्ने सुनौलो अवसर हो ।
हुर्कँदै तपाईंले घरभित्रको काम सिक्नुभएको छैन भने अहिले सिक्नुस् । तपाईं घरमै हुनुहुन्छ तपाईंकी श्रीमती, आमा वा दिदीबहिनी भातभान्छामा निपूर्ण छन् । उनीहरुबाट भातमा पकाउन, तरकारी बनाउन वा सरसफाइको काम सिक्नुस् । तपाईं जब परिवर्तन हुनुहुन्छ नि तपाईंको परिवारका महिला सदस्य खुसी हुन्छन् । अनि परिवार स्वतः खुसी, सुखी हुन्छ ।

शेयर गरौ

ताजा अपडेट