मौलिक सस्कृती माथी अतिक्रमण बढ्दो : सस्कार जोगाउन देउसी भैलो खेल्दै

कालिकोट ८ कार्तिक  । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ ।

मान्म स्थित सुनचाँदी व्यवसायी कमल सुनारले थाली नाच, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित बेनीमा देखाइने देउसी भैलो जिल्लाकै आकर्षक भएको बताए । परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई देउसी भैलोमा समावेश गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने उनको धारण छ ।

कालिकोटको सदरमुकामा मान्ममा जिल्लाकै एकमात्र मगर जाति लगायत विभिन्न समूहले देउसी भैलो खेल्न सुरु गरेका छन् । अधिकाँश देउसी भैलोमा मौलिक संस्कृतिको प्रदर्शन हुँदा देउसी भैलोको अवलोकन गर्नेहरुको समेत भीड लाग्ने गरेको छ । देउसी भैलोमा जिल्लामै लोकप्रिय मानिने थाली नाच, मादले मारुनी, सालैजो, कौडा, सिरफुले पुख्र्यौली नृत्य लगायतलाई प्राथमिकता दिने गरिएको शुभकालिका गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विर बहादुर वुढामगरले बताए ।

‘कला संस्कृतिकै जगेर्नाका लागि देउसी भैलो खेलिएको हो, म पनि मगरकै छोरा हुँ । हामीले देखाउने पुराना संस्कृतिले यहाँका बासिन्दालाई समेत प्रभावित बनाएको पाएका छौँ, यहाँबाट सङ्कलन हुने दान रकम समेत लोपोन्मुख संस्कृतिको संरक्षणसँगै सङ्घको भवन मर्मत र व्यवस्थापनमा खर्चिने योजना बनाएका छौं,’ अध्यक्ष वुढामगरले भने । जिल्लामा रहेका जनजाति समुदायको देउसी भैलोमा उनीहरुले आफ्ना मौलिक संस्कृतिलाई बढावा दिइरहेको पाइएको छ ।

मौलिक संस्कृतिमा अतिक्रमण बढ्यो

तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको भन्दै बूढापाकाले चिन्ता प्रकट गर्न थालेका छन् । पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको हो ।

पहिलेको देउसी भैलो भावनात्मक हुने गरेपनि अहिलेको देउसी भैलो भने युवायुवतीहरुको मनोरञ्जनमा मात्रै सीमित भएको सदरमुकाम मान्मका अज बहादुर शाहिले बताए । ‘हाम्रो पालामा अहिलेको जस्तो प्रविधि थिएन, मादल र बाँसुरीको सङ्गीतमा भाइबहिनीका कथा व्यथाहरु देउसीमार्फत गाउने गथ्र्यौं, अहिलेको देउसी भैलोमा भावनात्मक कथा व्यथा भन्दापनि मनोरञ्जनलाई मात्रै बढी प्राथमिकता दिइएको छ,’ शाहिले आफ्नो अनुभव सुनाए ।

पहिले कन्या र विशेष गरी महिलाहरु मात्रै देउसी खेल्ने र पुरुषहरु जुवा खेल्ने गरेको स्मरण गर्दै उनले अहिले महिला र पुरुष दुबै सहभागी भएर देउसी भैलो खेलेको देख्दा निकै खुसी लागेका बताए । यहाँका अग्रज कलाकारहरु पनि देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने बताउँछन् ।

विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।

देउसी भैलोलाई मनोरञ्जनसँगै पुराना संस्कृतिको संरक्षण र सामाजिक काममा सहयोग जुटाउने माध्यम बनाउनु सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेका गुनासाहरु पनि बढ्न थालेका छन् ।

राजधानी दैनिक बाट

शेयर गरौ

ताजा अपडेट