काठमाडौं, १६ असोज :
शरद ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष दुई समूहका १० जनाले अनुमति लिएका छन् ।
पछिल्लो तीन वर्षको शरद ऋतुमा आरोहणका लागि कसैले अनुमति नलिएकोमा यस वर्ष दुई समूहले अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्कोमा १ जना गरी १० जना रहेका छन् ।
सगरमाथा आरोहणको उत्तम समय बसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेन शरद ऋतुमा नै सगरमाथा शिखरमा पुगेका थिए । त्यसयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।
सन् २०१९ कै बसन्त ऋतुमा विभिन्न समूहका ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीहरुका सहयोगीसहित करिब ७ सय जनाले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणको क्रममा ९ जनाको ज्यान गएको थियो ।
उनीहरुको ज्यान जानुको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो । उक्त याममा हुने भिड र समस्यालाई शरद ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् ।
आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का बर्षात्सँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प वानसम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने कुनैपनि कार्य गर्दैन ।
समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार बसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प वानसम्मको बाटो बनाउन सकिने भएपनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइदैन ।
यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिं तामाङले बताए ।


