चितवन समाचार डटकम,
५ असोज । गरिमा जातको हाइव्रिड धानमा बाला नलागेपछि चितवनका किसानले क्षतीपुर्तीको लागि कृषि ज्ञानकेन्द्र भरतपुरमा उजुरी गरेका छन् ।
गएको असारमा रोपेको धानमा अहिले बाला लाग्नु पर्ने समय भइसक्दापनि कुनै विकास नभएपछि किसानले बिउ कम्पनीलाई कार्वाही गरी क्षतीपुर्ती गराइदिन उजुरी दिएका हुन् । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भन्नु भयो ‘धानमा बाला नलाग्ने घटना पहिलोपटक देख्दैछु, चितवनमा लगाएको गरिमा जातको धानमा बाला लागेको छैन ।’ धान रोपेको स्थानमा धेरै पटक अनुगमन गर्दा अहिलेसम्म बाला लाग्ने अवस्था देखिएन उहाले भन्नु भयो ‘अब यो धानमा बाला लाग्दैन ।’
धानमा बाला नलागेपछि नेपालमा बिक्री गर्ने कम्पनी र नेपालमा विउ दिने भारतीय कम्पनीका प्रतिनिधिलाई धानबालीको स्थलगत निरीक्षण गराएर किसानको समस्या समाधान गर्न कार्यालयले पहल गरेको छ । ढकालले भन्नु भयो ‘समस्या आएको छ किसानको पीडालाई सम्वोधन हुनु पर्दछ, नियमावलीमा बिउमा समस्या भए कम्पनीले किसानलाई क्षतीपुर्ती दिनु पर्ने व्यवस्था छ ।’
कार्यालयका प्रमुख ढकालले भन्नु भयो ‘नेपाल सरकारले वि.सं. २०७२मा गरिमा जातको धानलाई रजिष्टर गरेर नेपालमा बिक्री गर्न अनुमती दिएको थियो ।’ त्यही समयदेखि चितवनमा यस जातको धान किसानले लगाउदै आएका छन् ।
सुख्खा, पानी कम भएको ठाउँमा लगाइने यो जातको धान छिटो पाक्ने हुन्छ । राम्रो उत्पादन दिने भएकाले चितवनका किसानले यो जातको धान मन पराएको हो प्रमुख ढकालले भन्नु भयो । नेपालमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टर कम्पनले बिक्री वितरण गर्न अनुमती पाएको छ । यही कम्पनीले नेपालमा बिक्री गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख ढकालले भन्नु भयो हामी जिल्लामा लगाएको धानको विस्तृत विवरण लिदैछौ । अहिलेसम्म प्राप्त सूचनाको आधारमा जिल्लामा एकहजार ५ सय विगाह क्षेत्रफलमा यो धान खेती भएको छ प्रमुख ढकालले भन्नु भयो । सबै भन्दा धेरै पूर्वी चितवनमा यो धान लगाएका छन् ।
बिउ बिक्री गर्ने नेपालको लागि सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीले भन्नु भयो ‘यस अगाडि यस्तो समस्या देखिएको थिएन अहिले समस्या आएको छ ।’ दाङमा रहेको यो कम्पनीले सबैधन्दा धेरै चितवनमा धानको बिउ बिक्री गर्दै आएको छ । चौधरीले भन्नु भयो ‘नेपालमा वार्षिक १७ टन बिउ आउने गरेकोमा चितवनमा मात्रै १३ टन बिक्री भएको छ ।’ दाङसहित अन्य जिल्लामा यो धानको बिउ थोरै बिक्री हुन्छ उहाले जानकारी दिनु भयो ।
भारतको हैदराबादमा गरिमा जातको धान सन् २०१३ बाट बिउ उत्पादन भएको भरतीय कम्पनीका प्रतिनिधि विपिन दुवेले बताउनु भयो । नेपालमा रोपेको धानमा समस्या आएपछि कम्पनीका प्रतिनिधि नेपाल आएको थियो । भारतमा यस्तो समस्या थिएन यहा देखियो दुवेले भन्नु भयो । भारतको उत्तर प्रदेश अन्तरगत आजम्बर, जोमपुर लगायतको क्षेत्रमा गरिमा धान धेरै लगाउने गरेको उहाले बताउनु भयो ।
किसानलाई परेको समस्याका बारेमा आवश्यक पहल गर्ने दुवै देशका कम्पनी प्रतिनिधिहरुले बताएका छन् ।


