बाढीका कारण चारवटा सीमा स्तम्भमा क्षति

काठमाडौं १७ साउन । यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माण र मर्मत भएको पनि विभागले जनाएको छ ।

सीमा स्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन् । सन् १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल र भारतको नक्साअनुसार ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ भएको पत्ता लगाएको थियो । जसमा २ हजार १ सय ५ नदी क्षेत्रमा र ३१ वटा नदी किनारमा छन् ।
यस्तै, भूमि क्षेत्रमा ६ हजार ४ सय १८ वटा सीमा स्तम्भ छन् ।
सन् २००७ मा नेपाल–भारतबीच सीमा विवाद समस्या देखिएपछि सन् २०१४ सम्म नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएको थियो । सम्बन्धमा सुधार आएसँगै सन् २०१४ मा तेस्रो संयुक्त आयोग गठन गरेर संयुक्त सीमा सर्वेक्षण कार्यलाई निरन्तरता दिइएको थियो ।लामो समयदेखि संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएपछि सीमा क्षेत्रका धेरै स्तम्भमा क्षति पुगेको पाइएको थियो । नापी विभाग नक्सा शाखा अधिकृत दयानन्द जोशीले सीमा स्तम्भ निर्माण कार्यक्रम अन्य क्षेत्रको निर्माणजस्तो नभएको बताए ।

‘काम गर्दै जाँदा सीमा क्षेत्रमा रहेका बासिन्दाले अवरोधसमेत गर्छन्, यसमा नेपाल र भारत दुवै देशका जनताले कहीँकहीँ अवरोध खडा गर्ने पनि गरेका छन्,’ जोशीले भने, ‘यस्ता विभिन्न खालका अवरोध र समस्याले गर्दा सीमा स्तम्भ सडक र पुल निर्माण गरेजस्तो सहज छैन । सीमा स्तम्भ निर्माण गर्दा दुवै देशको सहमतिमा काम गर्नुपर्छ । दुवै देशका सीमा सर्वेक्षण टोली एक ठाउँमा बसेर संयुक्त रूपमा कार्य गर्नुपर्ने हुन्छ, कहिले भारतको सर्वेक्षण टोली नआउँदा सीमा स्तम्भ निर्माण कार्य रोकिन्छ भने कहिले नेपाली टोली नजाँदा रोकिन्छ । त्यसकारण, सीमा क्षेत्र निर्माण र मर्मतको काम लक्ष्यअनुसार सम्पन्न हुँदैन ।’

जोशीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा १ हजार २ सय ७२ वटा सीमा स्तम्भ मर्मत र निर्माण भएका छन् । जसमध्ये २ सय ७१ वटा मर्मत र १ हजार १ निर्माण भएका हुन् । यो ५ वर्षयताकै धेरै हो ।
नेपाल र भारतबीचको संयुक्त सीमा सर्वेक्षण रोकिएर पुनः सुरु भएको २०१४÷१५ मा जम्मा १ सय ७६ वटा मात्र सीमा स्तम्भ निर्माण र मर्मत भएका थिए ।
यसैगरी, २०१५÷०१६ मा सीमा स्तम्भ निर्माण कार्यले निरन्तरता पाएपछि १ हजार १ सय ४९ पिलर निर्माण र मर्मत भएको थियो २०१६÷१७ मा ५ सय १४ वटा सीमा स्तम्भ निर्माण भएकोमा २ सय १४ मर्मत र ३ सय ४ निर्माण भएका छन् । २०१७÷१८ मा ६ सय १४ वटा निर्माण र मर्मत भएका छन् ।
नेपाल–भारत संयुक्त सीमा सर्वेक्षणमा विभिन्न जिल्लामा चार वटा टोली खटिएका थिए । १ नम्बर टोली झापा र मोरङ, २ नम्बर टोली धनुषा, ३ नम्बर टोलीले रूपन्देही र कपिलवस्तु तथा ४ नम्बर टोलीले कैलालीमा सीमा स्तम्भको काम गरिरहेको छ ।जोशीले चालू आर्थिक वर्षको सीमा स्तम्भ सर्वेक्षण कार्य आगामी सेप्टेम्बर–अक्टोबर बीचमा नेपाल र भारतबीच छलफल भएर कामको थालनी हुने बताए ।

राजधानी दैनिकबाट

शेयर गरौ

ताजा अपडेट