दुध उत्पादन गर्ने किसान आन्दोलित : प्रतिलिटर दश रुपैयाँ बढाउन माग

चितवन समाचार डटकम
१६ साउन ।
अहिले भइराखेको मुल्यमा प्रतिलिटर १० रुपियाँ दुधको मुल्य बृद्धि गर्नु पर्ने चितवनका दुग्ध उत्पादक किसानले सरकारसंग माग राखेका छन् ।
लागत अनुसारको मुल्य नपाएको भन्दै मुल्य बृद्धिको माग राखेका हुन् । किसानको मागलाई सरकारले   बेवास्ता गरे  एक हप्ताबाट आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज भरतपुरमा पत्रकार सम्मेलन गरी मुल्य बृद्धिको माग राखेका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य तथा दुध उत्पादक किसान भागिरथ तिमिल्सिनाले तीन वर्षदेखि मुल्य बृद्धि नहुदा किसानले घाटामा बिक्री गरिराखेकाले आन्दोलनमा जान परेको बताउनु भयो । उहाले भन्नु भयो ‘लागत मुल्य प्रतिलिटर ६३ रुपियाँ पर्दछ, अहिले पाएका छौ ४८.३६ पैसा, यसले धेरै दिन किसानले उत्पादन गर्न सक्दैनन् ।’ दाना र चोकरको मुल्य बृद्धि भएर लागत बढ्दै गएको छ तर दुधको मुल्य बृद्धि नहुदा किसानलाई घाटा भइराखेको उहाले बताउनु भयो । तत्काल सरकारले प्रतिलिटर १० रुपियाँ मुल्य बृद्धि गर्नु पर्ने माग गर्नु भयो ।
दुधको खुद्रा मुल्य अहिले ७० रुपियाँ प्रतिलिटर रहेको छ भने मुल्य बृद्धि भएमा ८० रुपियाँ पुग्ने छ । विकास वोर्डमा यस विषयमा धेरै पटक छलफल भएर लागत मुल्य, दाना चोकरको मुल्य बृद्धि, बजारमा भएका अन्य सामग्रीको मुल्य बृद्धि सबैलाई ध्यान दिएर दुधको मुल्य बृद्धि गराउन माग गरेको तिमल्सिनाले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘हामीले विकास वोर्डको तर्फबाट कृषि मन्त्रीलाई दुधको मुल्य बृद्धि गर्नु प¥यो भनी जानकारी गराउदा यसमा सुनवाइ भएन, अब पनि वेवास्ता गर्ने हो भने आन्दोलनको विकल्प छैन ।’
तीन वर्ष अगाडि दानाको मुल्य २५ रुपियाँ प्रति किलो थियो भने अहिले ३७ पुगेको छ । चोकर तीन वर्ष अगाडि प्रतिकिलो २२.५० पैसा थियो भने अहिले ३७.५० रुपियाँ पुगेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेले बताउनु भयो । हरेक वस्तुमा भएको मुल्य बृद्धिको प्रभाव दुधमा परेकाले यस विषयमा सरकारले सम्वोधन नगरे एक हप्तापछि सडकमा आन्दोलनका कार्यक्रम ल्याउने जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘हामी वाध्य छौ आन्दोलन नगरी राज्यले सुन्दैन ।’
किसानबाट सञ्चालित सहकारीलाई कर छुटको माग गरिएको छ । सहकारीलाई राज्यले करको छुट दिएकाले व्यवसायिक किसानको दुग्ध उत्पादक सहकारीलाई कर छुटको व्यवस्था गर्नु पर्ने माग राखिएको छ । त्यस्तै गरी दुग्ध सकारीलाई विगतमा दिदै आएको विद्युत महसुलमा ५० प्रतिशत छुट अविलम्व कार्यान्वयन गर्न पनि माग गरेका छन् । दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले भन्नु भयो ‘विदेशबाट आउने गरेको दुग्ध जन्य पदार्थमा राज्यले रोक लगाउनु पर्दछ, नेपालको दुधबाट नै आवश्यकता पूरा हुने भएकाले आयात रोक्नु पर्दछ ।’
संघका अनुसार चितवन जिल्लामा अहिले दैनिक २ लाख ९० हजार लिटर दुध दैनिक उत्पादन हुने गरेको छ । जिल्लाका किसान मध्य ४५ प्रतिशत दुध उत्पादनमा आवद्ध भएको संघले लिएको तथ्याँकमा उल्लेख गरिएको छ । जिल्लामा उत्पादित दुध काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा जाने गरेको कार्यालयले जनाएको छ । दुधालु गाई र भैसीको सख्या ६८ हजार ६ सय ११ वटा रहेको संघका सचिव किशोर बगालेले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट