विद्या भण्डारीलाई प्रमुख मानेर ओली, प्रचण्ड, माधव एउटै मञ्चमा

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक विशेष राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ। मदन भण्डारी फाउण्डेसनद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आयोजित उक्त गोष्ठीमा देशका प्रमुख कम्युनिस्ट नेताहरूको एकै मञ्चमा उपस्थिति हुने भएको छ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त गोष्ठीमा मदन भण्डारीको राजनीतिक विचार, दर्शन र समसामयिक राजनीतिमा उनको योगदानबारे घनिभूत छलफल हुनेछ।

पछिल्लो समय फरक(फरक राजनीतिक धार र गठबन्धनमा रहेका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने यो संयोगलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा लिइएको छ। कार्यक्रमले विशेषगरी छरिएर रहेका कम्युनिस्ट शक्तिहरूका बीच वैचारिक समानता र सहकार्यको नयाँ आयाम खोल्न सक्ने भन्दै विभिन्न अड्कलबाजीहरू सुरू भएका छन्।

आजको यस गोष्ठीलाई थप चर्चामा ल्याउन गत असार १२ गते विराटनगरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिले मुख्य भूमिका खेलेको छ। उनले ‘निरन्तरतामा क्रमभंगता’ को संकेत गर्दै ‘समाजवादी मोर्चामा रहेकाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ को सम्भावना व्यक्त गरेका थिए। प्रचण्डको सोही भनाइ पछि आजको कार्यक्रममा सहभागी हुने शीर्ष नेतृत्वको यो साझा उपस्थिति र संवादलाई आगामी दिनको राजनीतिक कोर्ष परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।

शेयर गरौ

ताजा अपडेट