मोरङ । मोरङ क्षेत्र नम्बर ६ यतिबेला चुनावी तापले तातेको छ। झन्डा, ब्यानर, घरदैलो र नाराबीच प्रतिस्पर्धा चर्किएको छ। तर यही भीडभाड र उत्साहको बीचमा नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालका लागि यो समय व्यक्तिगत पीडाको घडी बनेको छ।
एकातर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दौड, अर्कोतर्फ १०१ वर्षको उमेरमा बुबा विष्णुप्रसाद ढकालको निधन। चुनावी रणनीति, कार्यकर्ता भेटघाट र घरदैलो अभियानको चापबीच उनी अहिले हिन्दु परम्पराअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरी कोरामा बसेका छन्। घरभित्र शोकका मन्त्र गुञ्जिरहेका छन्, तर उनको मन भने मतदाताको आँगनसम्म पुग्न नसकेको पीडाले भारी छ।
केही दिनअघि उनले कोराभित्रबाटै एक भिडियो सन्देश सार्वजनिक गरे। स्वरमा शोकको गहिराइ थियो, तर शब्दमा दायित्वको दृढता। ‘म शारीरिक रूपमा तपाईँहरूको माझमा आउन नसके पनि मेरो मन तपाईँहरूसँगै छ। बुबाको शोक र तपाईँहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,’ उनले भने।
छोरीहरू बने ‘सारथी’ उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भयो। बुबाको अनुपस्थितिमा उनका दुई छोरीहरू घरदैलो अभियानमा निस्किएका छन्।
‘जेनजी’ पुस्ताकी जेठी छोरी सुरभी, जो इटालीमा सस्टेनेबल नेचुरल रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गरिरहेकी छिन् । र कान्छी छोरी सौरभी—जसले भर्खरै बीएलएलबी पूरा गरेकी छिन् । दुवैले अभियानको मोर्चा सम्हालेका छन्।
बिहानै उठेर बुबाको तस्वीर अगाडि निहुरेर आशीर्वाद लिने, प्रतिबद्धता पत्र समेट्ने र त्यसपछि मतदाताको घर–घर पुग्ने—यी दिनचर्या अहिले उनीहरूको दैनिकी बनेको छ।
उनीहरूको हातमा केवल घोषणापत्र छैन, बुबाको संघर्ष, इमान्दार छविको कथा र पारिवारिक संस्कारको सन्देश पनि छ। घरदैलोमा पुगेर उनीहरू भन्छन्, ‘हाम्रो बुबा अहिले तपाईँहरूको आँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौँ। उहाँको सपना पूरा गर्न साथ दिनुहोला।’
जब दुई छोरीहरू मतदाताको आँगनमा पुग्छन्, धेरैजसोको पहिलो प्रश्न हुन्छ, ‘विनोद दाइ खोइ?’ जब उनीहरूले नम्र स्वरमा जवाफ दिन्छन्, ‘हजुरबुबा बित्नुभयो, बुबा किरियामा हुनुहुन्छ, त्यसैले हामी आएका हौ छिन् ।’ त्यो क्षणमा राजनीतिक बहसको ठाउँ भावनाले लिन्छ।
एक स्थानीय वृद्धा आमाले आँसु पुछ्दै भनिन्,’बिचरा, बाउको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिँडेका छन्। धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो।’ राजनीतिक आलोचनाको तयारीमा बसेका कतिपय मतदाता पनि यो दृश्यले भावुक बनेका छन्।
मतदाताहरूका लागि यो दृश्य केवल प्रचार अभियान होइन। उनीहरूले यसमा ‘छोरी’ को अदम्य साहस, पारिवारिक जिम्मेवारी र संस्कार देखेका छन्। धेरैको बुझाइ छ, ‘जसका छोरीहरू यति जिम्मेवार छन्, त्यो बाबुले समाजका लागि पनि केही राम्रो सोचेकै होलान्।’
विनोद ढकाल कोरामा बस्दा उनका शब्दहरू मौन छन्। तर उनका छोरीहरूको पाइलाले त्यो मौनतालाई आवाज दिएको छ। पितृशोकको यो घडीमा देखिएको यो परिपक्वता र सक्रियताले राजनीति केवल भाषण, नाराबाजी र घोषणापत्रको खेल मात्र होइन भन्ने सन्देश दिएको छ। यो सम्बन्ध, संवेदना र संस्कारको पनि परीक्षा रहेछ भन्ने कुरा मोरङ–६ का मतदाताले महसुस गरिरहेका छन्।
हिजोसम्म उम्मेदवार आफैं घरदैलोमा आउँथे। आज छोरीहरू बुबाको सपना बोकेर मत माग्दै हिँडिरहेका छन्। एक स्थानीय मतदाता भन्छन्,’यो केवल राजनीति होइन, परिवारको जिम्मेवारी र संस्कारको कथा हो। मन छोएको छ।’ मोरङको चुनावी मैदानमा यसपटक भाषणभन्दा बढी भावनाले प्रभाव पारेको छ। र त्यो भावनाको केन्द्रमा छन्—एक शोकाकुल बुबा र उनका दुई साहसी छोरी।


