चितवन । चितवनस्थित आरम्भ कलेज स्नातक तह पहिलो सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथो पटक जिल्ला प्रथम (चितवन टपर) बन्न सफल भएको छ ।
कलेजका विद्यार्थीले बि.एच.एम. (BHM) र बि.आइ.टी.एम. (BITM) दुवै सङ्कायमा उत्कृष्ट जिपिए हासिल गर्दै जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् ।
सार्वजनिक नतिजाअनुसार बि.एच.एम.तर्फ आरम्भ कलेजका विद्यार्थीले ३.९२ जिपिए तथा बि.आइ.टी.एम.तर्फ ३.९५ जिपिए हासिल गरेका छन् । यसैगरी कलेजकी छात्रा सुहानाले ३.९५ जिपिए प्राप्त गरी देशभरको कुल नतिजामा पाँचौँ स्थान हासिल गर्न सफल भएको कलेजले जनाएको छ ।
कलेजको चौथो ब्याचको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीको निरन्तर मेहनत र उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्नुभयो ।
उहाँले लगातार चौथो पटक आरम्भ कलेज चितवन टपर बन्नुका साथै देशभरको नतिजामा समेत विद्यार्थीले उत्कृष्ट स्थान हासिल गर्नु चितवनवासीका लागि गौरवको विषय भएको बताउनुभयो ।
“चितवनलाई कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल ठहरिने हाम्रा विद्यार्थीको सपना साकार हुँदै गएको छ,” प्राचार्य शिवाकोटीले भन्नुभयो ।
उहाँले गुणस्तरीय शिक्षाका लागि चितवनबाट काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता नरहेको दाबी गर्नुभयो । आरम्भ कलेजले चितवनमै गुणस्तरीय शिक्षा र आवश्यक शैक्षिक मापदण्ड स्थापित गरेको उहाँको भनाइ छ ।
चौथो ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै प्राचार्य शिवाकोटीले अग्रज विद्यार्थीले कायम गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आफ्नो लक्ष्य हासिल गर्न आग्रह गर्नुभयो ।


