नारायणगढ–हेटौँडा सडक विस्तार हुदै : टिकौलीमा दुई किलोमिटर फ्लाइओभर

शालिग्राम नेपाल ।
चितवन, । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ । सडक विस्तारका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले भदौ १९ गते विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । हेटौँडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको ७० किलोमिटर सडक तीन प्याकेजमा स्तरोन्नति गर्न लागिएको हो ।

एडीबीको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा अघि बढाइएको आयोजनाको पहिलो प्याकेजमा राप्ती पुलदेखि लोथर पुलसम्मको करिब ४० किलोमिटर, दोस्रो प्याकेजमा लोथर पुलदेखि टिकौलीसम्मको करिब २६ किलोमिटर र तेस्रो प्याकेजमा टिकौलीदेखि गोन्द्राङसम्मको करिब चार किलोमिटर सडक समेटिएको छ । सडक आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वानपछि ठेक्का सम्झौता गरी निर्माण सुरु गर्न करिब सातदेखि नौ महिना लाग्ने जानकारी दिनुभयो । निर्माण अवधि तीन वर्ष छ महिना राखेर बोलपत्र आह्वान गरिएको छ ।

आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचनाका रूपमा चितवनको टिकौली जङ्गलमा करिब दुई किलोमिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । संरक्षित क्षेत्रभित्र यति लामो फ्लाइओभर निर्माण गर्न लागिएको यो नेपालमै पहिलो आयोजना हुने आयोजनाले जनाएको छ । एडीबीका अनुसार यो संरचना बरण्डाभार वन्यजन्तु करिडोरमा वन्यजन्तुको आवागमन अवरोध नहुने गरी निर्माण गरिनेछ ।

टिकौलीमा सडक माथिबाट सवारीसाधन सञ्चालन हुने र त्यसको मुनिबाट वन्यजन्तु आवतजावत गर्न सक्ने व्यवस्था मिलाइनेछ । फ्लाइओभरमा दुईवटा समानान्तर संरचना रहनेछन् । प्रत्येक संरचना करिब ११ मिटर चौडा हुनेछ । सडकका चार लेनमध्ये दुई लेनमा एकतर्फ र दुई लेनमा अर्कोतर्फ सवारीसाधन सञ्चालन हुनेछन् । पैदलयात्री र साइकल यात्राका लागि पनि छुट्टै लेनको व्यवस्था गरिनेछ । फ्लाइओभरमा ६७ वटा पिलर रहने डिजाइन गरिएको छ ।
फ्लाइओभर निर्माणमा करिब ५.५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये तीन अर्ब रुपियाँ एडीबीको अनुदानबाट र बाँकी रकम सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिनेछ । यसअघि आयोजनाले फ्लाइओभरमा अनुदान बढाउन एडीबीसँग आग्रह गरेको भए पनि हाल तीन अर्ब रुपियाँ अनुदानको व्यवस्था रहेको आयोजना निर्देशक ढकालले बताउनुभएको छ ।

समग्र ७० किलोमिटर सडक दुई लेनबाट कम्तीमा चार लेनमा विस्तार गरिनेछ । बजार तथा बस्ती क्षेत्रमा चार लेनको मुख्य सडकसँगै सर्भिस लेन, फुटपाथ, साइकल लेन र सडक पार गर्ने संरचनासमेत निर्माण गरिनेछ । बस्ती तथा बजार नभएका क्षेत्रमा भने मुख्य सडक चार लेनको बनाइनेछ । एडीबीले शहरी क्षेत्रमा सडक प्रयोगकर्ताको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राखेर सर्भिस लेन तथा पैदल र साइकल पूर्वाधारलाई आयोजनाको अभिन्न हिस्सा बनाएको छ ।
मकवानपुर–चितवन खण्डमा सातवटा स्थायी पक्की पुलसमेत निर्माण गरिनेछन् । सडक विस्तारसँगै पुल तथा अन्य संरचना पनि चार लेनको मापदण्डअनुसार निर्माण गरिने आयोजनाले जनाएको छ ।

नारायणगढ–हेटौँडा सडकखण्डको स्तरोन्नतिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डको यातायात क्षमता बढाउने, यात्रा समय घटाउने र सडक सुरक्षा सुधार गर्ने अपेक्षा गरिएको छ । विशेषगरी टिकौली जङ्गलमा निर्माण हुने वन्यजन्तुमैत्री फ्लाइओभरले सडक दुर्घटनाबाट हुने वन्यजन्तु क्षति घटाउनुका साथै बरण्डाभार करिडोरमा वन्यजन्तुको प्राकृतिक आवागमनलाई सहज बनाउने छ ।

टिकौली जङ्गलमा निर्माण हुने फ्लाइओभर पुलले नयाँ पर्यटकीय केन्द्र विस्तार हुने क्षेत्रीय होटल संघ सौराहा च्याप्टरका पूर्व अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जङ्गल सफारीको लागि चितवन आएका पर्यटक भरतपुरबाट सौराहा अउनु पूर्व बाटोमा नै फ्लाइओभरबाट जनावर हेर्न पाउने अवर पाउने भनेको ज्यादै महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट