चितवन । पहिरोका कारण अवरुद्ध भएको कृष्णभिरमा नयाँ ट्र्याक खोलेर सामान्य अवस्था बनाएपछि आजबाट सवै सावारी साधन सञ्चालनमा आएका छन् । सामान्यतः मुलुकका ठुला पूर्वाधार आयोजनाहरू ढिलासुस्ती, बजेट वृद्धि र प्राविधिक कमजोरीका कारण समयमै नसकिने आमप्रवृत्ति छ । यस्तो पृष्ठभूमिमा कृष्णभिर जस्तो चुनौतीपूर्ण भूगोलमा तोकिएको समयमै काम पूरा गर्ने यो कार्यशैलीले मुलुकका अन्य ठुला विकास आयोजनालाई समेत समयमै सम्पन्न गर्न राम्रो प्रेरणा दिने अपेक्षा गरिएको छ । कृष्णभिरको सफलताले मुलुकको विकासनिर्माणमा लामो समयदेखि देखिएको निराशालाई चिर्ने कामसमेत गरेको छ । यस सफलताले नेपाली विकासनिर्माण क्षेत्रमा व्याप्त ‘नेपालमा समयमै काम हुँदैन’ भन्ने निराशावादी भाष्यलाई गलत प्रमाणित गर्नुका साथै यसले अन्य राष्ट्रिय गौरवका र ठुला आयोजनालाई पनि तोकिएको समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने बलियो आत्मविश्वास र प्रेरणा दिएको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव इन्जिनियर तुलसी सिटौलाले मुलुकका कुनै पनि विकास योजनालाई समयमै सम्पन्न गर्न उच्च राजनीतिक प्रतिबद्धता र समन्वयको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री स्वयम्ले संसद्मा भदौभित्रै सडक खुलाउने प्रतिबद्धता जनाउनुभएकाले राज्यका संयन्त्रहरू उच्च समन्वयका साथ युद्धस्तरमा खटिएका र यसले गर्दा नै छोटो समयमै कृष्णभिरमा वैकल्पिक बाटो निर्माण सम्पन्न भएको बताउनुभयो । राजनीतिक प्रतिबद्धता र समन्वय भएमा छोटो समयमा ठुलो काम गर्न सकिन्छ भने सन्देशसमेत यसले दिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “राज्यको सम्पूर्ण शक्ति र राज्यका निकायबिच समन्वय भएको र उच्चस्तरीय अनुगमनका कारण छोटो समयमा कृष्णभिरको काम सम्पन्न भएको हो । ठुला आयोजना र विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा समेत सम्बन्धित निकायबिच समन्वय गरेर अगाडि बढ्ने हो भने निर्धारित समयमै काम सम्पन्न गर्न सकिन्छ ।” कृष्णभिरको सन्दर्भमा राज्यका तर्फबाट गर्नुपर्ने सबै काम समयमै गरदिएका कारणले कम समयमा काम सम्पन्न भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “राज्यका सबै संयन्त्र परिचालन र उनीहरूबिच समन्वय गर्ने हो भने र आवश्यक ‘रिसोर्स’ पनि दिने हो भने ठुला आयोजनासमेत समयमै सम्पन्न गर्न सकिन्छ । यसका लागि उच्च राजनीतिक नेतृत्वले सम्बन्धित मन्त्रालय र निकायबिच आवश्यक समन्वय गरिदिनु पर्छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। प्रकाश श्रेष्ठले कृष्णभिरको सडक निर्माणले सम्बन्धित निकायबिच समन्वय भयो भने ठुला काम पनि छिट्टै गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । ठुलठुला आयोजना र राष्ट्रिय गौरवका आयोजनामा समेत राज्यका संयन्त्रबिच समन्वय गर्दै जाने हो भने समयमै काम सम्पन्न गर्न सकिने उहाँको भनाइ छ । कुनै पनि आयोजनाका लागि एउटा घोषित लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कृष्णभिरका सन्दर्भमा प्रधानमन्त्रीले पनि सार्वजनिक रूपमा घोषणा नै गर्नुभयो र त्यसबमोजिम केन्द्रबाट पनि ताकिता भयो । अन्य आयोजनामा समेत केन्द्रबाट ‘मोटिभेट’ गर्नु पर्यो, उत्प्रेरित गर्नु पर्यो । उत्प्रेरित गरियो भने काम सम्पन्न हुन सक्छ ।”
कृष्णभिर पृथ्वी राजमार्गको यस्तो खण्ड हो जुन बर्सौंसम्म विनाशकारी पहिरोका कारण मुलुककै प्रमुख ‘बोटलनेक’ ९अवरोध० बनेको थियो । त्यस्तो अत्यन्तै कमजोर र जोखिमयुक्त भिरमा घोषित समयभित्रै ट्र्याक खोल्नुले नेपाली इन्जिनियरिङ र निर्माण क्षेत्रको उच्च प्राविधिक क्षमता र दृढतालाई समेत प्रमाणित गर्छ ।
पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गर्नुभएकै समयसीमाभित्र ९भदौ मसान्तभित्र० सम्पन्न हुनुमा मुख्य रूपमा दु्रत प्राविधिक निर्णय, उच्च स्रोत परिचालन र दिनरात निरन्तर गरिएका काम जिम्मेवार छन् । भोटेकोशीको विनाशकारी बाढीले सडक पूर्ण रूपमा बगाएपछि सरकारले विशेष रणनीति अपनाएर १० दिनमै ट्र्याक खोल्ने काम सम्पन्न गरेको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालको प्रत्यक्ष सहजीकरणमा प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेको थियो । पहिलो चरणमा ११ देखि १२ वटा र पछि नियमित रूपमा ग्रेडर, रोलर र एक्साभेटरसहितका हेभी मेसिन पहाड खन्न र सडक सम्याउन पूर्ण क्षमतामा परिचालन गरिए । कामलाई चौबिसै घण्टा अगाडि बढाउन सशस्त्र प्रहरी बल र स्थानीय तहको समन्वयमा ‘फ्लडलाइट’ ९उच्च क्षमताका बत्ती० हरू जडान गरी रातिको समयमा समेत तीव्र रूपमा काम गरिएको थियो ।
आजदेखि पूर्ण सञ्चालन
नारायणगढ समाचारदाताका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा डाइभर्सन खुलेसँगै बिहीबारदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले आवश्यक स्रोतसाधन, जनशक्ति तथा उपकरण परिचालन गरी समयमै ट्र्याक निर्माण सकेकाले राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्ने अवस्था आएको बताउनुभयो । “बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा खोल्ने सूचना जारी गरिसकेका छौँ । सोही अनुसार हुन्छ,” उहाँले थप्नुभयो, “सडक पुनर्स्थापनाको काम निर्धारित समयमै सम्पन्न गरी राजमार्ग सञ्चालन गर्ने अवस्थामा पुगेका छौँ । अबको काम सडकलाई दिगो बनाउन आवश्यक अध्ययन र अनुसन्धान गर्नु हो । त्यसका लागि हामी काम अगाडि बढिसकेका छौँ ।”


