चितवन ।
माग भन्दा उत्पादन वृद्धि भएको भन्दै नेपाल ह्याचरी उद्योग सङ्घले आजबाट एक हप्ताको लागि कुखुराको चल्ला उत्पादन बन्द गरेको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घको भेलाको निर्णयले एक हप्ताको लागि वन्द गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । उहाले भन्नुभयो “ उपभोक्ताको माग भन्दा उत्पादन धेरै भएर खाल्टोमा हाल्नु पर्ने अवस्था आएपछि केही दिनको लागि देशै भरी उत्पादन बन्द गर्ने निर्णय गरेका छौ” अध्यक्ष विसुरालले भन्नुभयो “यो समस्या नेपालमा मात्रै होइन भारतको उत्तर प्रदेशमा पनि यस्तै अवस्था भएर अहिले बन्द गरिएको छ ।”
असार २९ गतेसम्मलाई हामीले देशैभरीका ह्याचरी उद्योगले उत्पादन गर्ने छैन त्यसपछि अवस्था हेरेर कती उत्पादन गर्ने निर्णय गर्ने छौ उहाले भन्नुभयो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएको जानकारी दिएको छ । उत्पादित चल्ला र मासुले मूल्य पाएको छैन । उहाले भन्नुभयो “ माग र उत्पादनको सन्तुलन मिलाएपछि उत्पादन गर्नेछौ ।”
अहिले नेपालमा ८० वटा ह्याचरी उद्योग सञ्चालनमा रहेका छन् । ती मध्य चितवनमा मात्रै ३५ वटा उद्योग छन् । चार वर्ष अगाडि नेपालमा तीनसय ६० वटा ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले विभिन्न कारणले उद्योगहरु बन्द भएको सङ्घका विसुरालले बताउनुभयो ।
सङ्घका अनुसार नेपालभरी एक हप्तामा चालिस लाख वटा चल्ला उत्पादन हुने गरेको छ । ती मध्य ४० प्रतिशत उत्पादन चितवनको उद्योगले गर्दै आएको छ । अहिले नेपालमा ३० लाख वटा चल्ला उत्पादन भए बजारको माग पूरा हुने गर्दछ । हप्ताको १० लाख वटा चल्ला बिक्री नभएर खाल्टोमा हाल्नु पर्ने अवस्था आएपछि एक हप्ताको लागि बन्द गर्न बाध्य भएको उहाले बताउनुभयो । एउटा चल्ला उत्पादन गर्न ६० रुपियाँ लागत पर्दछ । तर बजारमा १५ रुपियाँमा बिक्री गर्न बाध्य हुनु परेको छ । त्यो पनि बिक्री हुने अवस्था नभएपछि मागलाई सन्तुलन बनाउन जरुरी रहेको उहाले बताउनुभयो । सङ्घमा आवद्ध भएका उद्योगहरुले हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गर्दै आएको थियो ।
साना उद्योगलाई बिक्रीमा समस्या नभएपनि ठुला ह्याचरीलाई उत्पादित चल्ला बिक्री गर्न ज्यादै कठिन हुने गरेको संघले जानकारी दिएको छ । अण्डा, मासु उत्पादित सामग्री उपभोग गर्ने जनशक्तिको कमी भएको कारण बिक्री नभएको संघले जनाएको छ ।


