काठमाडौँ ५ साउन । उत्पादनमा कमी आएको भन्दै तीन महिनाभित्रमा अन्डाको होलसेल मूल्य प्रतिगोटा झन्डै ४ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले गत असार २६ मा मझौला अन्डाको प्रतिक्रेट ४ सय २५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ तोकेको छ । जबकि तीन महिनाअघि २०७९ चैत २२ मा मझौला अन्डा प्रतिक्रेट ३ सय १५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ३ सय ४५ रुपैयाँ थियो । असार महिनामा मात्रै उत्पादकले प्रतिक्रेट २५ रुपैयाँसम्म मूल्य बढाइसकेका छन् ।
होलसेल मूल्य नै बढेपछि अन्डाको खुद्रा मूल्य झनै बढेको छ । खुद्रा बजारमा अन्डा प्रतिक्रेट ५ सय ३० देखि ६ सय रुपैयाँसम्ममा बिक्री भएको छ । त्यस्तै, प्रतिगोटा अन्डा २० रुपैयाँसम्ममा बिक्री भइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । ‘उत्पादक, होलसेल र वितरकले हप्तैपिच्छे मनपरी मूल्य बढाएका छन्,’ नाम उल्लेख गर्न नचाहने एक खुद्रा व्यापारीले भने, ‘साताअघिसम्म २ वटा अन्डा ३५ रुपैयाँसम्ममा बेच्न सकिन्थ्यो । अहिले गोटाकै २० रुपैयाँ पर्ने भइसक्यो ।’ पर्याप्त उत्पादन नभएको भन्दै व्यवसायीहरूले मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् ।नेपाल अन्डा उत्पादक संघले बर्डफ्लु महामारी, बैंकको ऋण, आर्थिक मन्दीलगायत कारणले अन्डा उत्पादनमा कमी आएको जनाएको छ ।