बाटो निर्माण समिति माथि दुव्र्यवहार : निर्माण कार्यमा अवरोध नगर्न समितिको अनुरोध

चितवन ६ जेठ । भरतपुर महानगरपालिका वडा नं. १० अमृतपथको बाटो तथा ढल निर्माण उपभोक्ता समितिका व्यक्तिमाथि दुव्र्यवहार भएको छ ।
वडा नं. १० ज्ञानदर्शन टोल अमृतपथ (क)को निर्माणधिन सडकको काममा अवरोध सिर्जना भएपछि जानकारी लिन जाँदा समितिका पदाधिकारी दुव्र्यवहार भएको हो । सो सडक फराकिलो बनाउने क्रममा आफ्नो घर घेरिएको बाहिरको पर्खाल भत्काएको भन्दै स्थानीय दिनेश अधिकारीले दुव्र्यवहार गरेको समितिका सचिव मिनराज गौतमले जानकारी दिनु भयो ।
बाटो निर्माणको क्रममा अधिकारीले अवरोध सिर्जना गरेपछि उहालाई सोधपुछ गर्न जाँदा इट्टा प्रहार गरी गालीगलौज गरेको गौतमले बताउनु भयो । समितिका पदाधिकारी सहित स्थानीयहरुले बाटो निर्माणको क्रममा आवरोध सिर्जना नगर्न अनुरोध गरेका थिए । तर अनुरोधलाई उहाले नमानेको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष सीता वसेलले बताउनु भयो ।
व्यक्तिगत जग्गा मिचेर बाटो निर्माण गर्न नपाइने भएकाले आफूले अबरोध गरेको दिनेश अधिकारीले बताउनु भयो । अबरोध गरेपनि दुव्र्यवहार नगरेको दावी गर्नु भयो । नक्सामा तीन मिटरको बाटो छ, फिल्डमा साढे चार मिटरको छ त्यही साढे चारमिटरलाई कायम राख्नु पर्नेमा चौडाइ वढाएर बाहिरी पर्खाल भत्काएको उहाले बताउनु भयो । यदी आफ्नो जग्गा बाटोले लिने हो भने क्षतीपुर्ती दिनु पर्ने उहाँको भनाइ छ । बाटोको उत्तर तर्फ अधिकारी र दक्षिण तर्फ चन्द्रकला पौडेलको घर रहेको छ ।


पुरानो बाटो नयाँ निर्माण गर्दा ६ मिटर बनाउनु पर्ने मापदण्ड रहेको भरतपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी दिनु भयो । उहाले भन्नु भयो बाटो निर्माणका क्रममा मापदण्ड अनुसार वृद्धि गर्दा कोही कसैको घर बाहेकका संरचना, पर्खाल शौचालय, तारबार भत्काउनु पर्ने उल्लेख छ । त्यही मापदण्ड अनुसार त्यहाँको पर्खाल भत्केको हो उहाले भन्नु भयो मापदण्ड सवैलाई लागु हुन्छ कुनै व्यक्ति विशेषलाई मात्र छुट हुदैन । अन्य स्थानमा पनि पर्खाल, शौचालय तारबार गोठ भत्केका छन् ।
बाटो निर्माणका क्रममा धेरै पटक जानकारी दिदा समेत अटेर गरेको समितिको दावी छ । सार्वजनिक बाटो निर्माणका क्रममा कुनै व्यक्तिको घर नभत्काएको र घर बाहिरको पर्खाल पेटी भत्केकाले त्यसलाई विवादमा ल्याएर बाटो निर्माणको कामलाई अवरोध गर्न नहुने समितिको भनाइ छ ।
३२० मिटर लामो ६ मिटर चौडाइ रहेको सडकका लागि प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको पहलमा ढल निर्माणका लागि १७ लाख तथा प्रदेश सांसद विजय सुवेदी र पार्वती सिलवालको पहलमा ३० लाख रुपियाँ आएको समितिले जनाएको छ । आर्थिक वर्षको अन्तिम समयमा अहिले महानगरपालिका भित्र विकास निर्माणको कामले तिब्रता पाएको छ । स्थानीय सडक निर्माणमा सबैले सहयोग गर्नु पर्ने महानगरपालिकाले अपिल गरेको छ ।

शेयर गरौ

ताजा अपडेट