काठमाडौँ, २ जेठ । सरकारले तीन वर्षभित्र देशभरका निजी घरका फुसका छानालाई जस्तापाताले विस्थापित गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जोखियुक्त बस्ती स्थानान्तरणलाई समेत सरकारले तीव्रता दिने बताउनुभयो ।
‘पूर्वाधार विकास, सेवा प्रवाह गर्न कठिन हुने, छरिएर रहेका तथा भौगोलिक दृष्टिले असुरक्षित, अपायक, जोखिमयुक्त स्थानमा बस्तीहरु राखिने छैन’ भन्ने नेपाल सरकारको नीति रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्ता बस्तीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरसहितका एकीकृत आधुनिक बस्ती विकास गरी स्थानान्तरण गर्ने कामलाई तीव्रता दिइने उल्लेख छ ।
अतिविपन्न, लोपोन्मुख, अति सीमान्तीकृत जातजाति, समुदाय र सहरी गरिबका लागि सुरक्षित, वातावरणमैत्री आवास उपलब्ध गराउन ‘सुरक्षित नागरिक अावास कार्यक्रम’लाई सबै जिल्लामा विस्तार गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
त्यस्तै, काठमाडौँ उपत्यकाभित्र चार वटा आधुनिक उपसहरहरु विकास गर्ने काम सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । काठमाडौँ उपत्यकासँग जोडिएका उपयुक्त स्थानमा प्राथमिकतासाथ व्यवस्थित सहरीकरणको पूर्वाधार निर्माण गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।