आजदेखि भरी ग्याँस सिलिण्डरको बिक्री शुरु

काठमाडौं, ३० चैत । लकडाउनमा खाना पकाउने एलपिजी ग्याँस आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरी ग्याँस सिलिण्डरको बिक्री शुरु भएको छ ।

निगमका अनुसार सबै ग्याँस उद्योगले बजारमा १४.२ किलोको भरी ग्याँस सिलिण्डर बजारमा पठाइसकेका छन् ।

काठमाडौं उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार विभिन्न नाकाबाट पर्याप्त मात्रामा ग्याँसका बुलेट भित्रिरहेका कारण ग्याँसको अभाव छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी सबै उद्योगीले आ–आफ्ना डिलरमार्फत बजारमा भरि सिलिण्डर ग्याँस पठाइसकेको बताए । उनका अनुसार सबै ग्याँस उद्योगसँग पर्याप्त मात्रामा ग्याँस मौज्दात रहेको र ग्याँसमा कुनै समस्या छैन ।

‘सबै ग्याँस उद्योगसँग दश हजार टन क्षमतामा ग्याँस मौज्दात छ । उक्त ग्याँसबाट सात लाख वटा ग्याँस सिलिण्डर भर्न पुग्छ’, उनले भने, ‘आयात निरन्तर भएको छ, उपभोक्ताहरुले खाली सिलिण्डर घरमा राख्दा उद्योगलाई ग्याँस भर्न समस्या भएको छ ।’

देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डार गृह भरिएकाले एक सय बुलेटमा ग्याँस राखिँदै आएको उनले जानकारी दिए ।

नेपाल एलपी ग्याँस उद्योग संघले उपभोक्तालाई आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउन समेत आग्रह गरेको छ । संघका अनुसार उपभोक्ताले बजारमा आधा ग्याँस सिलिण्डर आएको जनाउँदै खाली सिलिण्डर घरमा राखेका कारण सिलिण्डर अभाव भएको छ ।

गत बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि सिलिण्डर ग्याँस भरी आजदेखि सबै ग्याँस उद्योगलाई बजारमा ग्याँस पठाउन निर्देशन दिएको थियो ।

बजारमा खाना पकाउने ग्याँसको माग उच्च भएपछि निगमले यही चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्याँस बिक्रीवितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्याँस बिक्री भएको थियो ।

शेयर गरौ

ताजा अपडेट