चितवन समाचार डटकम,
२८ चैत । कोरोना भाइरसको संक्रमण रोक्ने गरिएको बन्दाबन्दीको कारण बजारमा सहजै लैजान नसक्दा उत्पादन भएको केरा बोटमा पाक्न थालेको छ ।
चैत महिनाको मध्यबाट चितवनको वारीमा केरा बजारमा लैजान सक्ने भएको थियो । तर वारीमा उत्पादन भएको सामग्री सहजै बजारसम्म लौजना नसक्ने, फलफूल बजार बन्द भएपछि छिप्पीएको केरा बोटमा नै पाक्न थालेको हो । चितवन जिल्ला केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले भन्नु भयो ‘बजार बन्द छ वारीमा छिप्पिएको केरा लैजान सकिएको छैन कसरी बस्ने चिन्ताले पिरोलिएको छ ।’
चैतको १५ गतेदेखि यहाँको बारीमा केरा तयारी भएको थियो । अहिले चैतको अन्तिम साता आउदा नष्ट हुने क्रम वृद्धि भएको छ । नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान विक्री गर्नको लागि समस्या भएको अध्यक्ष महतोले बताउनु भयो । प्रशासन कार्यालयबाट केरा बोकेको गाडी चलाउन दिएपछि बिक्री गर्ने स्थानको अभावमा वारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकेको उहाले बताउनु भयो ।
केरा उत्पादक संघको विहीबार इन्टरनेटको माध्यमबाट बसेको बैठकले अबस्था गम्भिर रहेकाले बिक्री गर्न सहज वातावरण बनाइदिन प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ । वारीमा पाकेको केरा काट्नको लागि मजदुर लैजान नपाइने, केरा वारीमा औषधि विषादीको अभाव, पानी लगाउनको लागि मजदुर परिचाल गर्न नपाइने, जिल्लाको थोक बजार बन्द हुदा बिक्री गर्न कठिन भएको कारण अवस्था सहज बनाइदिन अनुरोध गरेको छ ।
मार्कण्डे केरा उत्पादक सहकारी सस्थाका अध्यक्ष ध्रुव ढुंगानाले भन्नु भयो बिक्रीका लागि तयारी अवस्थामा केरा छ तर जान सकिएको छैन । मजदुर लैजान पाइदैन आफ्नो साधनमा जान पाइदैन कसरी बिक्री गर्ने उहाले भन्नु भयो । २० विगाहा क्षेत्रफलमा लगाएको केरा अब वारीमा नै कुहिएर जाने अवस्था आयो । उपभोक्ता माझ लैजाने वातावरण भए लगानी डुव्ने थिएन उहाले भन्नु भयो ।
खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरका किसान यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि विक्री नहुँदा लाखौंको नोक्सान हुने बताउनु भयो । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्ने समेत थाहा नभएको उहाको भनाइ छ । अहिले पनि भारतबाट केरा भित्रिएको तर नेपाली केराले बजार नपाएको उहाको गुनासो छ । संघका पूर्व अध्यक्ष सुवेदीले चितवनका ७० बिगाहामा केराखेती गर्दै आउनु भएको छ । अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनु पर्ने केरा उत्पादक किसानले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले भन्नु भयो केरा, फलफूल, तरकारीको साना गाडीलाई वारीबाट बजारसम्म ल्याउन दिने व्यवस्था गरेका छौ । धेरै संख्यामा मजदुर लैजादा, सबैले सवारी साधन लैजादा रोगको संक्रमण फैलन सक्ने भएकाले केही असहजता आएको बताउनु भयो । भिड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था गरेको बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले थोक बजार सञ्चालन गर्दा मानिसको भिड हुने भएकाले उत्पादन गरेका किसानले खुद्रा पसल, सोफौ उपभोक्तालाई दिन सक्ने व्यवस्था मिलाएका बताउनु भयो । थोक बजारमा राख्ने, त्यहाँ खुद्रा पसलहरु जाने गर्नाले स्वास्थ्य अवस्था जोखिम हुने भएकाले थोक बजार बन्द गरिएको जानकारी दिनु भयो ।
केरा उत्पादन संघको तथ्यांक अनुसार जिल्लामा तीन हजार बिगाह भन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै डेढ अर्ब रुपैयाँ बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ ।


