चितवन १६ फागुन । भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा शुक्रबारदेखि प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ शुरु भएको छ ।
महोत्सवको उद्घाटन बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गरे । महोत्सवको उद्घाटन गर्दै भुर्तेलले स्थानीय स्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । महोत्सवले कृषि, पर्यटनलगायतलाई जोड दिएको खण्डमा मुलुकले चाँडै नै समृद्धि हासिल गर्ने भुर्तेलको भनाइ छ । मेला महोत्सवमा बाह्य सामग्रीहरुको विक्री र प्रदर्शनभन्दा पनि ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तु, स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा भुर्तेलले जोड दिए ।
सो महोत्सवको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै महोत्सव मूल समिति संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले भरतपुरको समग्र विकासका लागि महोत्सव आयोजना गरिएको बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै भ्रमण वर्षलाई समेत सफल बनाउनका लागीपरेको पौडेलको भनाइ छ । महोत्सवमा कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक गरि करिब २५० स्टल रहेकोमा सम्पूर्ण स्टलहरु बुकिङ भएका पौडेलले जानकारी दिए । मुलुकको समृद्धि र उन्नतीको अभियानलाई भरतपुरले नेतृत्व गर्ने समेत पौडेलको भनाइ छ ।


