चितवन, १२ फागुन । नेपाल पोल्ट्री महासंघले भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि नेपाल पोल्ट्री इन्टरनेशनल एक्स्पोको आयोजना गर्ने भएको छ ।
एक्स्पोको बारेजमा महासंघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । यस पटकको एक्सपोमा प्रविधिलाई प्राथमिकता दिने जनाएको छ । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले ‘उत्पादन लागत घटाउन प्रविधि आवश्यक हुन्छ, त्यसैले यस पटक प्रविधिलाई प्राथमिकता दिएका छौ’ उहाले भन्नु भयो, ‘एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित पछिल्ला प्रविधिहरुबारे जानकारी दिइने छ । ती प्रविधि अपनाउन चाहने व्यवसायीले अवलोकनबाट फाइदा लिन सक्छन् ।’
स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका लगायत १४ भन्दा बढी देशका पोल्ट्री कम्पनीको सहभागिता रहने आयोजकको भनाइ छ । एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
शुक्रबारदेखि आइतबारसम्म चल्ने पोल्ट्री एक्स्पोसँगै जोडेर पोल्ट्री पाठशाला समेत आयोजना हुँदैछ । एक्स्पो उद्घाटनको अघिल्लो दिन बिहीबारदेखि सुरु भई चार दिनसम्म चल्ने पोल्ट्री पाठशाला नेपाल भेटेरिनरी संघसँगको सहकार्यमा हुन लागेको पोल्ट्री महासंघका अध्यक्ष बिष्टले जानकारी दिनु भयो ।
देशभर दैनिक करिब पाँच सय मेट्रिक टन कुखुराको मासु उत्पादन हुने गरेको छ । मासुको कूल उत्पादनमध्ये २० प्रतिशत अर्थात् दैनिक एक सय टन मासु चितवनमा उत्पादन हुन्छ । नेपालमा अहिले दैनिक १८ लाख गोटा अण्डा उत्पादन हुन्छ । यसमध्ये दैनिक दस लाख गोटा अण्डा चितवनमा उत्पादन हुँदै आएको छ ।


