वायुसेवा निगम खस्कदै : किस्ता तिर्न सकेन, डेढ अर्ब रुपैयाँ ब्याजलाई साँवामा जोड्न प्रस्ताव

काठमाडौ २१ माघ । नेपाल वायुसेवा निगमले कर्जाको किस्ता तिर्न नसकेपछि करिब डेढ अर्ब रुपैयाँ ब्याजलाई पनि साँवामा जोड्न भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई वाइडबडी जहाजको मात्रै चार किस्ता तिर्न सकेको छैन । त्यस्तै, सञ्चयकोषलाई न्यारोबडी जहाजको दुई  किस्ता तिरेको छैन । नागरिक लगानीकोष र सञ्चयकोषलाई निगमले साँवा र ब्याजबापत करिब ४ अर्बको किस्ता रकम बुझाउन सकेको छैन । यी दुवै संस्थाबाट निगमले जहाज खरिद गर्न ३४ अर्ब रुपैयाँ कर्जा लिएको छ । निगमको प्रस्तावलाई अर्थले स्वीकृति दिएमा कर्जा रकम बढेर ३५ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

‘तिर्न नसकेको किस्ताको ब्याजलाई साँवामा परिणत गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छौँ, अर्थले सहमति दिएमा साँवामा जोडिन्छ,’ निगमका अर्थ विभागका प्रमुख उमेश पौडेलले भने । दुई जहाजको ब्याजलाई साँँवामा परिणत गर्न सञ्चयकोष र लगानीकोषले आग्रह गरेको र त्यसमा अर्थको सहमति चाहिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिए । कति ब्याज साँवामा जोडिन्छ भन्ने ठ्याक्कै हिसाब ननिकालेको, तर १० प्रतिशतको घट्दो ब्याजमा हिसाब गर्दा १ अर्ब ५० करोड हाराहारी रकम साँवामा जोडिने पौडेलले जानकारी दिए ।

निगमले वार्षिक ब्याज नै ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ । त्यस्तै प्रत्येक तीन महिनामा १ अर्ब १३ करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ । उनका अनुसार यसपटक पुसमा तिर्नुपर्ने किस्ता पनि १२ करोड घटाएर १ अर्ब १ करोड मात्रै बुझाइएको छ ।

निगमले सञ्चयकोषलाई वाइडबडीको १२ अर्ब र न्यारोबडीको १० अर्बसहित २२ अर्ब रुपैयाँको ब्याज र किस्ता तिर्नुपर्छ । त्यस्तै, नागरिक लगानीकोषलाई वाइडबडी खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज र किस्ता तिर्नुपर्छ ।

एक वर्षअगाडि पुस मसान्तमा वाइडबडीको पहिलो किस्ता तिर्नुपर्नेमा चार किस्ता बाँकी भइसक्दा पनि तिर्न सकेको छैन । जसले गर्दा वाइडबडीको मात्रै ३ अर्ब १६ करोड किस्ता बाँकी छ । त्यस्तै न्यारोबडीको ७० करोड रुपैयाँ किस्ता बाँकी छ । निगमलाई दुवै संस्थाले वार्षिक १० प्रतिशत ब्याजका दरले १५ वर्षको अवधि तोकेर ऋण दिएका थिए । तर, व्यवस्थापनका कमजोरीका कारण समयमै ठूला जहाज उडाउन नसक्दा निगमले ऋणको किस्ता तिर्न नसकेको हो ।  निगमले चार वर्षअगाडि सञ्चयकोषसँग १० अर्ब ऋण लिएर दुई थान एयरबस ३२० सिरिजको न्यारोबडी खरिद गरेको थियो । दुई वर्षअघि नागरिक लगानीकोषसँग १२ अर्ब र सञ्चयकोषसँग १२ गरी २४ अर्ब ऋण लिएको थियो ।

नयाँ पत्रीकाबाट

शेयर गरौ

ताजा अपडेट