चितवन समाचार डटकम,
६ माघ । निरन्तरको वर्षाले गर्दा यस वर्ष चितवनमा नयाँ इटा निस्कन समस्या भएको छ । इटा उद्योगले तयारी बनाएको काँचो इटा पानीले नष्ट पारेपछि यस वर्ष निस्कने नयाँ इटा बजारमा आउन समस्या भएको हो ।
गएको मङसिर, पुसको अन्तिम हप्ता र माघमा आएको वर्षाले गर्दा यहाँका इटा उद्योग धरासायी भएको हो । इटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले भन्नु भयो ‘उद्योगको चिम्नीमा राख्ने इटा समेत बनाउन पाएको छैन, अस्तिको पानीले मात्रै चार करोड वटा इटा नोक्सान भएको छ ।’
नयाँ बनाएको इटा सुकाउन राखेको ठाँउमा पानीले भिजाएको छ । काचो इटा भिजेपछि काम लाग्दैन उहाले भन्नु भयो ‘वर्षाले गर्दा यस वर्ष चार वटा इटा उद्योगले आगो निभाइ सके ।’ उद्योगले मङसिरमा आगो सल्काएपछि बैशाख वा जेठमा आगो निभाएर उद्योग बन्द गर्ने चलन छ । वर्षातमा इटा निर्माण कार्य नहुने भएकाले छ महिना मात्र उद्योग सञ्चालन हुने गर्दछ । छ महिनामा उत्पादन गरेको इटाले अन्य समयमा उपभोक्ताको माग पूरा गर्दै आएका छन् ।
धरेल इटा उद्योगको सञ्चालक कृष्णराज धरेलले भन्नु भयो ‘वर्षाकै कारणले उद्योगीहरु पलायन हुने अवस्थामा पुगेका छन्, गत वर्षपनि वर्षाले क्षती पुग्यो यो वर्ष त वर्वाद भएको छ ।’ नयाँ इटा बजारमा ल्याउन नसक्ने भन्दै उहाले भन्नु भयो ‘एउटा उद्योगीको यस वर्ष कम्तीमा पनि ५० लाख रुपियाँ घाटा भएको छ, नाफा हुन खोलेको उद्योग घाटामा गएपछि कसरी चलाउने ।’ अझै पनि पानी क्रम नरोकिएकाले एक दुइहप्ता उद्योगमा नयाँ इटा बनाउने काम हुदैन ।
नयाँ बनाएर राखेको इटा स्टोर गर्ने ठाँउ सुरक्षित नहुदा पनि उद्योगीलाई समस्या परेको छ । लाखौ सङख्यामा निर्माण गरेको इटा वाहिरनै सुकाउने पर्ने भएकाले पानीपछि ती सबै नोक्सान हुने गर्दछ । सुकाउन राखेको १५ वटा काचो इटा त्यही पग्लिएको सञ्चालक धरेलले बताउनु भयो ।
इटा उद्योग संघका उपाध्यक्ष सापकोटाले भन्नु भयो गएको मङसिर महिनामा मात्रै छ करोड रुपियाँ भन्दा धेरै नोक्सान भएको थियो, अहिलेको पानीले अझ धेरै रुपियाँको नोक्सान भएको छ ।’
खनाल इटा उद्योगका सञ्चालक इश्वरी पण्डितले भन्नु भयो ‘पुसमा १५ लाख वटा इटा नोक्सान भयो अहिले २० लाख वटा भन्दा धेरै नोक्सना भएको छ ।’ यस वर्ष उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन उहाले भन्नु भयो हिउदको पानी हाम्रा लागि विष वरावर हो । ‘गएको वर्षपनि पानीले एक करोड रुपियाँ भन्दा धेरै खर्च भएको थियो’ पण्डितले भन्नु भयो ‘यस वर्षपनि दुइ करोड रुपियाँ भन्दा धेरै नोक्सान भएको छ ।’
एउटा इटा निर्माण गर्नको लागि मजदुरलाई एक रुपियाँ दिने गरेको छ । निर्माण गरिसकेको इटामा लगानी भइसकेकाले अब त्यसको रकम उठाउन नसक्ने उद्योगीहरुले बताएका छन् । पानीले तयारी पारेको इटा डुबाएको छ । वर्षाले क्षती पारेपछि यहाँका उद्योगीहरु लागत रकमको विवरण संकलनको लागि जुटेका छन् । उत्पादन हुने समयमा पोल्न नपाएपछि नयाँ इटाको अभाव हुने भएको छ । चितवनमा १८ वटा इटा उद्योगहरु रहेका छन् ।


