मलाई सबै पूर्व अध्यक्ष, आममतदाता ज्यूको साथ र समर्थन छ : राजु श्रेष्ठ

उद्योग वाणिज्य संघ चितवनको पुस २८ र २९ गते हुने साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दैछ । अध्यक्ष पदमा उमेद्वारी दिएका संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठसंग चितवन समाचार डटकमले गरेको कुराकानी ।

अध्यक्ष पदमा तपाइको उम्मेदवारी किन ?
उद्योगी तथा व्यवसायीको हक हितको लागि । जिल्लाको समग्र सामाजिक तथा आर्थिक विकासमा भूमिका खेल्नका लागि । सानादेखि ठुला उद्योगी व्यवसायीहरुको पेशागत समस्याहरुलाई सुल्झाउन पहल कदमी लिनका लागि मेरो उमेद्वारी हो ।

तपाईकै साथ र समर्थनमा निर्विरोध बनेर अन्तिम घडीमा छाडेर गएका प्रति के भन्नु हुन्छ ?
सल्लाह गर्नु छ भनेर पुलमा लगेर धकल्नेहरुसंग मेरो भन्नु केही छैन । अस्ती तीन दिन अगाडि एकै थलोमा बसेर माडीमासंगै मत मागेर आएका हौ । तर साथीहरुले अर्कै प्रकृतिको रुप परिवर्तन गर्नु भयो । यो विषय आम व्यवसायीहरुले वुझ्नु भएको छ ।
मसंगै प्यानलमा रहेर अहिले बाहिर जानु भएकाहरुको व्यवहार गलत भयो भन्ने वुझाइ सबैमा छ । सबैजना सचेत हुनुहुन्छ । भोली ति साथीहरुले चुनावी मैदानमा के भनेर भोट माग्नुहुन्छ भन्ने चिन्ताको विषय रहेको छ ।

मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताले तपाइलाई अन्याय भयो भन्नु भएको छ । तपाई अहोरात्र व्यवसायीको समस्याको विषयमा जुधिरहनु भएको छ । तपाइलाई हामी न्याय गर्छौ भनेर मतदाताले हौसला दिनु भएको छ ।

पूर्व अध्यक्षहरुको प्रतिक्रिया के पाउनु भएको छ ?
पूर्व अध्यक्षहरु बिच बसेर हामीले सहमती गरेका हौ । चुननारायणजी र म बिच चुनावी मैदानमा जाने तयारी भएको थियो । तर हामीले यो सस्थालाई बचाउनु पर्छ । भावनात्मक सम्वन्ध कायम गर्नु पर्छ । व्यवसायीको समस्यामा मिलेर जुध्नु पर्दछ भनेर सहमती गरेको हो । पूर्व अध्यक्षहरु साक्षी हुनुहुन्छ । सबै पूर्व अध्यक्षज्युहरु, र आम मतदाता साथीहरुको समर्थन र आर्शिवाद मलाई छ ।

तपाइको प्रतिष्पर्धी भन्दा तपाइ कसरी बलियो हुनुहुन्छ ?
म व्यक्तिगत रुपमा कसैबारे नकरात्मक टिका टिप्पणी गर्ने पक्षमा छैन । म मेरै बारेमा मात्र भन्छु । व्यवसायीको दुःखलाई मैले नजिकबाट नियालेको छु । मलाई यहाँका व्यवसायीको समस्याको विषयमा राम्रोसंग जानकारी छ । अहिले आम समस्याका रुपमा पुलचोकदेखि लिएर लायन्सचोकसम्म एउटा गाडी रोक्न नपाउने अवस्थाले ब्यवसायीलाई ठुलो मर्का परेको छ । यो समस्या समाधान गर्न लाग्नेछु । एक कठ्ठा घडेरी बेचेर लाखौ रकम ऋण र लगानी गरेका ब्यवसायीको ब्यापार धरासायी बनेको छ । यसको समाधान गर्नै पर्दछ । संस्थागत हकहित र उद्योगी ब्यवसायीको हकहितमा सधै डटेर लाग्नेछु ।

बिगतमा पदाधिकारी भएर पनि काम गर्नु भयो उलेख्य कुरा केही छन् ?
मुल्याङकन चाँही आम ब्यावसायीले गर्नु भएको छ । राम्रो काम गरेको भनेर मलाई संघले सम्मान पनि गरेको छ । व्यवसायीको दुःखको समयमा मैले काम गरेको छु । व्यवसायीको समस्या पर्ने वितिकै मलाई सम्झनु हुन्छ । उद्योगी ब्यवसायीले रातको १२ बजे समस्या परेपनि फोन गर्नासाथ म हाजिर हुनेगरेको छु । बिगतमा जुन बेला समस्या पर्छ त्यसबेला राजु आइपुग्छ भनेर उहाँहरुले भन्ने गर्दा मलाई गर्वसमेत लाग्छ ।

 

अध्यक्ष बन्नु भयो भने के गर्नुहुन्छ ?
मेरो योजना चाहीँ साना तथा मझौला उद्यमी ब्यवसायीको लागि भिसिटीएस लागु भएकोमा यसको निराकरणका लागि महासंघ र सम्वन्धित मन्त्रालयमा पहलकदमी गर्नेछु । नारायणगढको क्याम्पाचौरलाई मिनी स्टेडीयम बनाउन लागी पर्ने छु । नारायणी नदी किनारलाई थप ब्यवस्थित गराउन पहल गर्नेछु । यसले भ्रमण बर्ष २०२० लाई पनि सपोर्ट गर्नेछ । यहाँको आर्थिक प्रगतिमा पनि टेवा पुग्छ भन्ने लाग्दछ । संघका आम सदस्यहरुको साझा समस्याहरुलाई समाधान गर्न तर्फ योजनावद्ध ढंगले अघि बढ्ने छु ।

मुग्लिन, नारायणगढ, भरतपुर, टाडी, पर्सा, भण्डारा, खोलेसिमल कालिका नगरपालिका क्षेत्र, पश्चिम चितवन, माडीसहित सबै स्थानका उद्योगी व्यवसायीहरुको भावनामा कहिल्यै ठेस लाग्न दिने छैन । यी सबै क्षेत्रका उद्योगी व्यवसायीको मनोवल उच्च बनाउन म अहोरात्र खटिनेछु ।

शेयर गरौ

ताजा अपडेट