चितवन २५ पुस । पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले निजी सम्पत्ति सरकारले हस्तक्षेप गर्ने छ भन्दै हल्ला फिजाएको प्रती आपत्ती जनाउनु भएको छ ।
शुक्रबारदेखि पूर्वी चितवनमा सुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै उहाले व्यक्तिको सम्पत्ति सरकारले हड्प्दैन पुजीको विकासलाई सहयोग गर्ने बताउनु भयो । ‘सरकारले लिने कर हो, कर नतिरी कुनै व्यवसाय गर्न सकिदैन’ उहाले भन्नु भयो ‘कर तिर्न हुदैन भन्नेहरुले सरकारले व्यक्तिको सम्पत्ति हड्प्न लाग्यो भन्दै हल्ला फिजाएको छ ।’ निजि क्षेत्रलाई व्यवसायिक सफलतामा पु¥याउनको लागि सरकारले सहयोग गर्ने भन्दै उहाले ठुला लगानी गरेर यही उद्योग सञ्चालन गर्न आग्रह गर्नु भयो ।
उहाले भन्नु भयो ‘ठुला लगानी गरेर उत्पादनमुलक उद्योग खोल्नुहोस सरकारले सुरक्षा र लगानीको सुनिश्चितता गर्दछ ।’ देशले एउटा बाटो समातिसकेकाले अबको समय भनेको आर्थिक क्रान्ती हो पाण्डेले भन्नु भयो । पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिन । समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्दछ । देश गरिब भएर समाजबादमा पुगिदैन, सरकारले मात्रै सम्पत्ति कमाउने होइन जनता धनी हुनु पर्दछ । यहाँका उद्योगी, व्यवसायी, किसान धनी हुनु पर्दछ त्यसको लागि काम गर्नु पर्छ पूर्व अर्थमन्त्री पाण्डेले भन्नु भयो काम गर्ने वातावरण सरकारले निर्माण गरेको छ ।
मेला महोत्सबले काम गर्नको लागि उर्जा दिने भएकाले यहाँ अवलोकन गर्न आउनेले केही सिकेर जाने वातावरण मिलोस जसले गर्दा आउदा दिनमा नयाँ उद्यमी नयाँ व्यवसायीको सख्या थपियोस नेता पाण्डेले भन्नु भयो ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारले व्यवसायीको हकहितका लागि काम गरिरहेको बताउनुभयो । स्थानीय स्तरमा हुने मेलामहोत्सवले समृद्धि ल्याउनका लागि मद्दत गर्ने भन्दै पोखरेलले महोत्सवहरुमा आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । महोत्सवको उद्घाटनसत्रसँगै शुक्रबारदेखि पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारी समेत शुरु गरिएको छ ।
कार्यक्रममा रत्ननगर महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दुरगामी महत्व बोकेको बताउनुभयो । प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीको भनाइ छ ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाकी कार्यवाहक प्रमुख विमला दुवाडी, सामाजिक विकास मन्त्रालय प्रदेश ३ का सचिव गोकर्ण दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले मन्तव्य राख्नु भएको थियो । माघ ७ गतेसम्म महोत्सवमा सञ्चान हुनेछ ।
स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।


