अमिर रामदाम,
चितवन, १८ पुष । सुनको मूल्य उकालो लाग्दै गएपछि व्यापार भने ओरालो झर्दै गएको व्यवसायीहरू बताउँछन् । दैनिक लाखौको कारोबार हुने न्यू लोकमान एण्ड सन्स सुनचाँदी पसल, आधुनिक सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी पसल, ब्रुनाई सुनचाँदी पसल लगायतका पसलहरूमा सुन महँगिए संगै व्यापार शून्य भएको पाइएको छ । गत वर्ष यसै समयमा चितवन जिल्लामा करोडौ व्यापार गरेको सुनचाँदी व्यवसायीले यो वर्ष सुन व्यापारकै सिजनमा घाटा खानु परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवम् चितवनका पूर्व अध्यक्ष अर्जुन रसाईलीले बताएका छन् । सुनचाँदी महासंघमार्फत चितवनमा प्रत्येक हप्ता ३ केजी सुन आउँथ्यो । तर पहिला यसै समयमा ग्राहकलाई सुन पुर्याउन नसकेको भन्दै आन्दोलन समेत भएका थिए तर अहिले सुनको दरभाउमा भएको उतार चढावका कारण पहिलाको अनुपातमा जम्मा १० प्रतिशत मात्र व्यापार हुने गरेको बताएका छन् ।
पहिला पहिला माघ महिना नजिकिदै गर्दा सुनचाँदी कारोबार राम्रो हुने गर्दथ्यो तर प्राय पुष महिना सुनचाँदी व्यापारको सिजनै भएपनि महँगीले व्यापार शून्यमा झरेको सुनचाँदी व्यवसायी संघ चितवनले जनाएको छ । चितवनभरी पाँच सयको हाराहारीमा सुनचाँदी पसल छन् भने नेपाल सुनचाँदी व्यवसायी संघ चितवनमा करिब २ सय ५० वटा पसलहरु आवद्ध रहेका छन् । चितवनमा शुक्रबार प्रतितोला छापावाल सुन ७४ हजार ५ सय, तेजावी सुन ७४ हजार २ सय , चाँदी प्रतितोला ९ सय ३० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले सुनको बजार भाउको उतारचढावका कारण व्यवसाय नै अन्यौलग्रस्त बनेको बताएका छन् । मूल्य निरन्तर उकालो लागेको छ, स्थीर नहुँदा लगानी गर्न समेत अप्ठ्यारो छ, नयाँ किन्न भन्दा पुरानै बेच्न आउने गरेका छन्, पुराना गहना मात्रै खरिद गर्नुपर्ने बाध्यतामा व्यवसायी भएको अध्यक्ष विश्वकर्माले बताएका छन् । उनले गत वर्ष यसै समयमा सुनको कारोबार बढी भएकोमा यसपालि शुन्य भएको बताएका छन् ।
“गत वर्षको अनुपातमा सुनचाँदीको दरभाउमा वृद्धि भए संगै यस वर्षको व्यापार शुन्य भएको” चितवनका युवा व्यवसायी तथा उधमी एवम् जय सन्तोषी माँ सुनचाँदी शोरूमका सञ्चालक रूवेन रामुदामुले बताएका छन् । उनले भने माघ महिना नजिकिदै गर्दा सुनचाँदी कारोबारमा राम्रो होला, अर्डरहरू आउला भन्ने सोचेकोमा तर त्यस्तो नभएको बताएका छन् । रामुदामुले अहिले नगदमा सुन कारोबार हुनै छाडेको बताएका छन्, ग्राहकले पुरानो सुन ल्याएर नयाँ गहनाहरू खरिद गर्ने गरेको बताएका छन् । यस्तै अवस्था रहिरहने हो भने सुनचाँदी व्यवसायीले अब अर्को विकल्प खोज्नुपर्ने बताएका छन् ।
अहिले आधा तोला सुनका गहना विक्री गर्न समेत गाह्रो भएको सुनचाँदी व्यवसायी संघ माडी शाखाका अध्यक्ष कृष्ण गोतामेले बताएका छन् । दिनै पिच्छे सुनको भाउ महंगिदा समस्या थपिएको उनले बताए। ‘मुस्किलले एक जना खरिद गर्न आए, चार–पाँच जना विक्री गर्न आउँछन्,’ उनले भने,‘अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ, विक्री हुँदैन किन्ने मात्र काम भएको छ, ग्राहकलाई एक दुई दिनमा आउनुस भनेर गहना नकिनी फर्काउनुपर्ने अवस्था पनि छ।’ अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा समेत परेको हो । ६ महिना अघिदेखि नै सुनको मूल्य उकालो लागेको हो ।


