चितवन समाचार डटकम,
१६ पुस । च्याउ खेतीलाई सरकारले महत्व नदिएकाले यसको प्रर्वद्धनमा कमी आएको किसानले गुनासो गरेका छन् ।
मेचीकाली च्याउ जागरण अभियानको लागि हिडेका किसानको टोलीले वुधबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा सरकारले उपेक्षा गरेको बताएका हुन् । च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष प्रेमनारायण अधिकारीले ४५ वर्षदेखि नेपालका व्यवसायिक च्याउ खेती हुदै आएपनि यसको नीति सरकारले नबनाउदा काम गर्न समस्या भएको बताउनु भयो ।
उहाले भन्नु भयो ‘मानव स्वास्थ्यको लागि उत्तम खाने सामग्री भएपनि यसको बजारीकरण, खेतीलाई प्रवद्र्धन गर्ने कार्यक्रम सरकारले राख्न सकेको छैन ।’ थोरै सङख्यामा पालन हुने अष्ट्रिजको लागि नीति बनाउने सरकारले वर्षौदेखि गर्दै आएको च्याउ खेतीको विषयमा कुनै कार्यक्रम नराख्दा किसानलाई समस्या परेको अधिकारीले बताउनु भयो । उहाँका अनुसार २०६१ सालबाट मात्रै च्याउ खेती गर्ने किसान मिलेर सस्था स्थापना गरी यसमा बहस हुन थालेको हो । ‘नेपालभरी च्याउ खेती गर्ने किसानको सङख्या ३५ हजार छन् ’ अध्यक्ष अधिकारीले भन्नु भयो ‘वार्षिक ३ अर्ब रुपियाँको आम्दानी गर्दै आएको छ तर यसको विषयमा सरकारले कुनै कार्यक्रम बनाएको छैन ।’
४२ जिल्लामा खेती हुने च्याउको लागि अलगै अध्ययन केन्द्र हुनु पर्ने माग गर्नु भयो । लगाएको २० दिनमा बिक्री गरेर आम्दानी लिन सकिने भएपनि प्राथमिकतामा नपर्दा खेती गर्दै आएका किसानलाई उर्जा नभएको सहभागी किसानले गुनासो गरेका छन् । च्याउ उत्पादक किसान संघका अनुसार दैनिक ५ हजार किलो च्याउ भारतबाट आउने गरेको छ ।
च्याउ खेती गर्दै आउनु भएका पूर्व स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठले च्याउ खेतीको प्रवद्र्धन गर्न सरकार चुकेको बताउनु भयो ।
मानव स्वास्थ्यका लागि धेरै उपयोगी र औषधिको काम गर्ने खाध्य सामग्री भएपनि यसको विषयमा किसानले मात्र प्रचार गर्नु पर्ने अवस्थाको अन्त्यको माग गर्नु भयो । उहाले भन्नु भयो ‘नेपालमा १५ सय प्रकारका च्याउ पाउने गर्दछ, ती मध्य छ प्रकारका च्याउ अदितीय गुण भएका छन् ।’ दुइसय जातका च्याउ औषधिको गुण भएकाले यसको महत्वको विषयमा सवैले जानकारी लिनु पर्ने बताउनु भयो । विश्वमा तीन प्रकारका च्याउ पाइने गर्दछ । त्यस मध्य विषालु च्याउ जंगलमा पाइन्छ जुन खाना साथ मानिसको मृत्यु हुन्छ । खान योग्य च्याउ यो किसानले व्यवसायिक रुपमा र घरमा खानको लागि खेती गर्ने गरिन्छ । औषधिको गुण भएको च्याउ जसले रोग निको पार्न र औषधि निर्माणमा प्रयोग गरिन्छ । औषधि जन्य च्याउमा यार्सागुम्बा, म्याजिक मसरुम लगायतको हुने गरेको पूर्व मन्त्री श्रेष्ठले जानकारी दिनु भयो । यार्सा हिमाली क्षेत्रमा पाइन्छ भने म्याजिक च्याउ चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने गरेको उहाले बताउनु भयो ।
च्याउ उत्पादक किसान संघ चितवनका अध्यक्ष बाबुराम केसीले भन्नु भयो ‘जिल्लामा दैनिक ३ टन उत्पादन हुने गरेको छ, यसबाट वार्षिक १८ करोड आम्दानी हुने गरेको छ ।’ यहाँ ३२ जना किसानले खेती गर्दै आएका छन् भने २० वटा व्यवसायिक फर्मले दर्ता गराएका छन् । च्याउ खेतीमा १५ करोड रुपियाँको लगानी रहेको अध्यक्ष केसीले जानकारी दिनु भयो ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले च्याउ खेतीको लागि सहयोग गर्ने बताउनु भयो । बुधबार चितवन आएको टोलीले पुस ९ गते मेचीबाट जागरण कार्यक्रम सुरु गरेको थियो भने २९ गते महाकालीमा पुगेर समापन गर्दैछ ।


