काठमाडौ १५ पुस । कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन् । जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसद्मा दर्ता गरेको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ । यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछन् ।
विधेयकअनुसार जागिर खानेले एक महिनामा पाँच दिनबराबर कैद सजाय छुट पाउनेछन् । उनीहरूले कारागार परिसरभित्र स्थापना गरिएका कारखानामा मात्र जागिर पाउनेछन् । यद्यपि उनीहरूलाई पछि विकास निर्माणको काममा पनि लगाउने कारागार व्यवस्थापन विभागका अधिकारीहरूको भनाइ छ ।
नियमावलीमार्फत असल चालचलन भएका कैदीलाई विकास तथा सामाजिक काममा खटाउने विभागको तयारी छ । नयाँ विधेयकमा पहिलोपटक कैदीलाई काममा लगाउन सकिने प्रावधान राखिएको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । विधेयकको दफा २६ को उपदफा ३ मा बन्दीलाई काममा लगाउनेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ । सोहीअन्तर्गत अन्य काममा लगाउनेबारे विभागले छलफल थालेको जनाएको छ ।
धेरै देशमा कैदीलाई सजायस्वरूप विकासका काममा लगाइने गरिएको छ । नेपालमा भने उनीहरूलाई सुधारका लागि भनेर यस्तो कार्यक्रम ल्याइएको छ । खासगरी खुला कारागारको अवधारणाा लागू गरेर उनीहरूलाई जागिरको अवसर दिन लागिएको विभागले जनाएको छ । अहिले पनि स्कुल भएका कारागारमा पढाउनेहरूले तलब पाउने गरेका छन् । सीपमूलक तथा आयमूलक कार्यक्रम भने पहिलेदेखि नै सञ्चालन हुँदै आएको छ ।
देशभर २४ हजार कैदी
नेपालमा ७४ वटा कारागार छन् । जहाँ करिब २४ हजार थुनुवा छन् । उनीहरूमध्ये १५ सय महिला छन् भने १२ सय विदेशी छन् । कैदीको अनुशासन र अपराधको प्रकृति हेरेर सुरक्षाकर्मीको निगरानीमा हुने गरी विकास निर्माणमा खटाउन लागिएको छ । धेरैजसो पैसाकै लागि अपराधमा लाग्ने भएकाले आयआर्जनमा लागे उनीहरू फेरि अपराधमा नफर्कने प्रहरी अधिकारीहरूको समेत सुझाब छ ।
नयाँ पत्रीकाबाट


