काठमाडौ १४ पुस । वर्षौंदेखि उखु किसानको पैसा नदिएका चिनी मिलका दुई जना संचालक बेपत्ता भएका छन् ।
सर्लाहीस्थित अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक विनोद कनौडिया बेपत्ता भएका हुन् । कृषि तथा पशुपन्छि मन्त्री घनश्याम भुसालले किसानसँग खरिद गरेको उखुको पैसा नतिर्ने अग्रवाल र कनौडिया भागेको बताए ।
प्रतिनिधिसभाको सोमबार बसेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगी सम्पर्कमा नरहेको र खोजी जारी रहेको बताएका हुन् ।
यसैबीच समितिले किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले उक्त निर्देशन दिएको हो ।
समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन् । त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरुको थियो ।
किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् ।
नयाँ पत्रीकाबाट


