ह्याचरी उद्योगको आन्दोलन सकियो : दस दिनमा तेतिस करोड घाटा

चितवन समाचार डटकम, 
९ पुस । लागत मुल्य नपाएको भन्दै देशभरका ह्याचरी उद्योगले गरेको दस दिने आन्दोलन वुधबार सकिएको छ ।
चल्ला उत्पादन नगरेपछि मुल्य बृद्धि हुने भन्दै गरेको हड्तालबाट ५ देखि ७ रुपियाँसम्म मुल्य बृद्धि भएको उद्योगीले जानकारी दिएको छ । नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले भन्नु भयो ‘आजबाट आन्दोलन सकिएर चल्ला निकाल्न थालिएको छ, यसबाट हामीले ५ देखि ७ रुपियाँ प्रति चल्ला मुल्य बृद्धि भएको पाएका छौ ।’
लागत मुल्य भन्दा ५० प्रतिशत घटीमा चल्ला बिक्री हुन थालेपछि बाध्य भएर हामीले ह्याचरी उद्योग बन्द गरेका थियौ पौडेलले भन्नु भयो । उद्योग बन्द गरेपछि १० दिनमा ३३ करोड रुपियाँ नोक्सान भएको वरिष्ठ उपाध्यक्ष पौडेलले जानकारी दिनु भयो । बन्द हुनु अगाडि प्रति चल्ला ३० रुपियाँमा बिक्री भएको थियो वुधबारबाट ३५ देखि ३७ रुपियाँसम्म बिक्री भएको छ । बन्दले गर्दा केही असर परेको हामीले अनुमान गरेका छौ पौडेलले भन्नु भयो ।
संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले भन्नु भयो ‘एउटा चल्ला उत्पादन हुदा हाम्रो ५५ रुपियाँ लागत हुन्छ, तर बन्द अगाडि ३० रुपियाँमा विक्री गर्नु परेको थियो ।’ संघका अनुसार १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ का दरले ३३ करोड रुपैयाँ बढी नोक्सान भएको अध्यक्ष पोखरेलले बताउनु भयो । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नु व्यवसायीलाई मात्र नभइ देशलाई समेत चुनौति भएको उद्योगीहरुको भनाइ छ । उत्पादन लागत अनुसारको मूल्य नपाएकै कारण व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको उहाले बताउनु भयो ।
उद्योगीहरुको निर्णय अनुसार मङ्सिर २९ गतेदेखि पुस ८ गते १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने निर्णय गरेका थिए । सोही अनुसार काम भएको संघले जनाएको छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
व्यवसायी मात्र होइन किसानले समेत उचित मुल्य नपाएको उहाले बताउनु भयो । हाल कृषकबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठाउने गरेका छन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी रहेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट