चितवन समाचार डटकम,
२९ .मंङसिर ।
लागत मुल्य नपाएको भन्दै देशभरका ह्याचरी उद्योगले आजबाट १० दिनको लागि चल्ला उत्पादन बन्द गरेका छन् ।
नेपाल ह्याचरी उद्योग संघले लागत मुल्य नपाएपछि बाध्य भएर उत्पादन रोक्नु परेको जानकारी दिएको छ । संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले भन्नु भयो ‘दस दिन बन्द गर्दा पछिको बजार राम्रो हुन्छ भन्ने अनुमानले यस्तो निर्णय गर्न वाध्य भएका छौ ।’
बन्द हुदा यस्तो फाइदा हुन्छ भन्ने हामीलाई लागेको होइन पहिलो पटक हामीले यस्तो निर्णय लिएका छौ उहाले भन्नु भयो । पोखरेलले भन्नु भयो ‘एउटा चल्ला उत्पादन हुदा हाम्रो ५५ रुपियाँ लागत हुन्छ, तर अहिले ३० रुपियाँमा विक्री गर्नु परेको छ ।’ संघका अनुसार यो अबस्था एक वर्षदेखि भएकाले व्यवसायीहरु बसेर गरेको सल्लाहले निर्णय लिएको हो । १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ का दरले ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताउनु भयो ।
देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नु व्यवसायीलाई मात्र नभइ देशलाई समेत चुनौति भएको उद्योगीहरुले बताएका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाएकै कारण व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको उहाले बताउनु भयो ।
उद्योगीहरुको निर्णय अनुसार मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख गरिएको छ । निर्णय कार्यान्वयन गराउन उत्पादन सुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा संघले समिति बनाएर अनुगमन गर्ने जानकारी दिएको छ । प्रदेश नं. ६ को सुर्खेतमा भर्खरै ह्याचरी सञ्चालनमा आएकाले त्यहाँ उत्पादन नभएको संघले जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको जनाकारी दिएको छ ।


