चितवन समाचार डटकम,
२८ मंङसिर । लागत मुल्य नपाएको भन्दै देशभरका ह्याचरी उद्योगले १० दिनको लागि चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन् ।
नेपाल ह्याचरी उद्योग संघले चितवनको भरतपुरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी लागत मुल्य नपाएपछि बाध्य भएर उत्पादन रोक्नु परेको जानकारी दिएको छ । संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले भन्नु भयो ‘दस दिन बन्द गर्दा पछिको बजार राम्रो हुन्छ भन्ने अनुमानले यस्तो निर्णय गर्न वाध्य भएका छौ ।’
बन्द हुदा यस्तो फाइदा हुन्छ भन्ने हामीलाई लागेको होइन पहिलो पटक हामीले यस्तो निर्णय लिएका छौ उहाले भन्नु भयो । पोखरेलले भन्नु भयो ‘एउटा चल्ला उत्पादन हुदा हाम्रो ५५ रुपियाँ लागत हुन्छ, तर अहिले ३० रुपियाँमा विक्री गर्नु परेको छ ।’ संघका अनुसार यो अबस्था एक वर्षदेखि भएकाले व्यवसायीहरु बसेर गरेको सल्लाहले निर्णय लिएको हो । १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ का दरले ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताउनु भयो ।
देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नु व्यवसायीलाई मात्र नभइ देशलाई समेत चुनौति भएको उद्योगीहरुले बताएका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाएकै कारण व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको उहाले बताउनु भयो ।
उद्योगीहरुको निर्णय अनुसार मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख गरिएको छ । निर्णय कार्यान्वयन गराउन उत्पादन सुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा संघले समिति बनाएर अनुगमन गर्ने जानकारी दिएको छ । प्रदेश नं. ६ को सुर्खेतमा भर्खरै ह्याचरी सञ्चालनमा आएकाले त्यहाँ उत्पादन नभएको संघले जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको जनाकारी दिएको छ ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको जानकारी दिएको छ । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने पोखरेलको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उत्पादन भएको चल्ला विदेश लैजान नसक्ने नेपालमा लागत मुल्य नआउने भएपछि संकटमा परेको बताउनु भयो । उहाले भन्नु भयो अहिले पोल्ट्री क्षेत्रका व्यक्तिहरु ज्यादै संकटमा परेका छन् । व्यवसायी मात्र होइन किसानले समेत उचित मुल्य नपाएको उहाले बताउनु भयो । हाल कृषकबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठाउछन् लामिछाने भन्नु भयो उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० भन्दा माथि पुग्छ ।
बिचमा रहेको व्यक्तिले नाफा धेरै खादा बजारमा सस्तोमा नपाएको बताउनु भयो । उद्योगी, किसान घाटामा सधै पर्ने बिचको व्यवसायीले नाफा गरिरहने तर यो बिचमा हुने नाफाको समस्या हटाउन नसक्दापनि समस्या आएको उहाले बताउनु भयो । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको बताउनु भयो ।
नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी रहेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो । ती मध्य ५० प्रतिशत लगानी बैंकको रहेको उद्योगीहरुले बताएका छन् । उद्योगीको समस्या सरकारले समयमानै सम्बोधन गर्न नसके पोल्ट्री क्षेत्र धरासायी हुने उनीहरुले बताएका छन् । पोल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराइले पोल्ट्री क्षेत्रमा लाग्ने कच्चा सामग्री नेपालमा सहिजलै पाइने र आयात गर्नु पर्दा सरकारको सहयोग भएमा समस्या समाधान हुने बताउनु भयो ।
उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेको कारण यस्तो समस्या अझ वृद्धि हुदै जाने उहाँको भनाइ छ । उहाल भन्नु भयो कुखुराजन्य उत्पादनका सबै क्षेत्रमा केही वर्ष यतादेखि लागत मूल्य धान्न नसक्ने गरी बृद्धि भइराखेको छ । यसले गर्दा धेरै उद्योगीहरु संकटग्रस्त अवस्थामा रहेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ ।
चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा उत्पादन गर्ने संघ र किसानको पनि यस्तै समस्या रहेको छ । अण्डा उत्पादक किसानले लागत अनुसारको अण्डाको मुल्य नपाएको भन्दै एकवर्ष अगाडिदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । प्रति गोटा किसानबाट ७ रुपियाँमा खरिद गर्ने बजारमा जाँदा १३ रुपियाँ पर्दा समस्यामा परेको उनीहरुको गुनासो रहेको छ ।


