पैसा ह्याकिङको अभियोगमा बैंकका हाकिम सहित जेल चलान

काठमाडौ २१ मंसिर । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारीकाे मिलेमताे भएकाे पुष्टिपछि जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादबसहित कर्मचारीहरु डम्बरबहादुर केसी र सुनिल कुमार शाहलाई अदालतले पुर्पक्षका लागि थुनाम राख्ने आदेश दिएको छ ।

सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका छन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवण कुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजय कुमार साह, गणेश कुमार बस्याल, यज्ञराज भट्ट, मालती न्यौपाने छन् । चार जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।  सुनिता लामालाई १० लाख, रामकृष्ण भुषाललाई २५ लाख, मालती न्यौपानेलाई १० लाख, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अषिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । बैतडीका जनक बहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र बिद्यासागर लामिछाने भने साधरण तारेखमा छुटेका छन् ।

महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरुलाई समेत प्रहरीले पक्राउ गरेर मुद्दा चलाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

पाँच अर्ब लुट्ने योजना

५ असोजमा  बानेश्वरस्थित पानस रेमिटबाट  एउटै कोडबाट धेरैले शंकास्पद कारोबार गरेको सूचना प्रहरीले पाएपछि यो घटनाको अनुसन्धान सुरु भएको थियो । सोही आधारमा अनुसन्धान गर्न प्रहरीले पैसा निकाल्ने सञ्जय घले, लक्ष्मी लामा, निर्मला तामाङ, निमा तामाङलाई पक्राउ गर्यो । उनीहरुले लवाङ तामाङको निर्देशनअनुसार आफुहरुले पैसा निकालेको बताए ।

प्रहरीले त्यसपछि लवाङलाई पक्राउ गर्यो । उनीसँग ३१ लाख रुपैयाँ भेटियो । त्यो पैसाको स्रोत खोज्ने क्रममा कृषि विकास बैंकमा ह्याकिङ भएको खुलेको हो । उनले सुरुमा कृषि विकास बैंकबाट सो रकम निकालेको बताएका थिए, तर स्रोत खुलाउन नसकेपछि अवैध रुपमा निकालेको खुल्यो । त्यसपछि आफुहरुले कृषि विकास बैंकलाई जानकारी गराएको अपराध महाशाखाका एसएसपी  थापा बताउँछन् ।

अनुसन्धानको क्रममा गिरोहका नाइके अफ्रिकन मुलका भारतीय नागरिक पिटर भएको खुलेको छ । उनी केही महिनाअघि नेपाल आएको र लवाङसँग चिनजान भएको थियो । उनकै निर्देशकअनुसार लवाङले विभिन्न व्यक्तिलाई पैसा निकाल्न परिचालन गरेका थिए ।

बैंकका कर्मचारीलाई पनि उनले नै सेटिङ मिलाएको प्रहरीले जनाएको छ । पैसा ट्रान्सफरसम्बन्धि गोप्य कोड पाएर उनले रातारात पैसा ट्रान्सफर गरेका थिए । यसरी पाँच अर्ब रुपैयाँ निकाल्ने उनको योजना थियो । यसरी निकालिएकोमध्ये केही रकम नेपालीहरुलाई नै दिने उनको प्रस्ताव थियो । निकालिएकोमध्ये १० लाख उनले भारतीइ व्यापारी सुबन्कर पन्जामार्फत हुन्डी गरेर लिएका थिए ।

नयाँ पत्रीका बाट

शेयर गरौ

ताजा अपडेट