चितवन समाचार डटकम,
२० मङसिर । सडक निर्माण कम्पनीको चरम ढिलासुस्तीको उदाहरण भरतपुर महानगरपालिकाको वाइपास सडकमा देखिएको छ ।
चौध महिनामा सक्नु पर्ने काम तीन वर्ष हुदापनि नसकेर तेस्रो पटक म्याद थप्न निवेदन दिएको छ । पूर्व पश्चिम राजमार्ग र मुग्लिन नारायणगढ सडक जोडिने वाइपास सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले दुइ किलोमिटर बनाउन तीन पटक म्याद थप गरेको छ । दुइ पटक म्याद थपेर तेस्रो म्याद थपका लागि निवेदन दिदा समेत काम सम्पन्न गरेको छैन । भरतपुर महानगरपालिकाको नारायणगढ बजार बाहिरबाट मुग्लिन नारायणगढ सडक जोडिने यो राजमार्ग फराकिलो बनाउन २०७३ सालमा ठेक्का सम्झौता भएको थियो ।
गौरी पार्वती निर्माण सेवाले पाएको ठेक्का सम्झौता थियो २०७३ पुस १९ गते हो । उसले काम सम्पन्न गर्नु पर्ने मिति २०७५ चैत १९ गते थियो । यो समयमा कुनैपनि काम नगरी म्याद सकियो । सडकको दायाँवायाँ रहेको विजुलीको पोल सार्नु पर्ने कारण देखाउदै ठेकेदारले पहिलो पटक म्याद थप ग¥यो २०७५ असोज १३ गतेसम्म । यो समयमा पनि कुनै काम भएन । दुइ किलोमिटर ३ सय मिटर सडक विस्तार गरेर कालोपत्रे गर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
पोल सार्न ढिलाइ भयो काम गर्न सकिएन भन्दै पुन कारण देखाएर दोस्रो पटक २०७६ जेठ २५ गतेसम्म काम सम्पन्न गर्नु पर्ने गरी म्याद थप भएर आयो । यो समयमा पनि काम भएन । अहिले फेरि विभिन्न बहाना बनाएर निर्माण कम्पनीले २०७७ जेठ ३० गतेसम्मको म्याद थप गर्नको लागि पुन निवेदन दिएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी भन्नु हुन्छ ‘काम छिटो गर्नु प¥यो भनेर पत्राचार गर्ने, बैठकमा दवाब दिने गर्दागर्दा हैरान भए तर काम गरेन ।’ उहाले भन्नु भयो ‘हामीले काम गर्नको लागि दवाब दिने हो अन्य कार्बाही गर्न सक्दैनौ, पत्राचारको चाङ छ, बैठकमा भनेका छौ तर ढिला सुस्ती गरेर काम गर्दैन ।’
पुर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुर केन्द्रीय वस टर्मिनलदेखि वाइपास हुदै नारायणगढको उत्तरतर्फ आँपटारी जोडिने सडक हो । नारायणगढको पुलचोकदेखि आपटारीसम्मको सडकलाई बजार क्षेत्र भन्दै यसलाई विस्तार नगर्ने सरकारी निर्णय भएपछि पुर्वपश्चिम राजमार्गसंग जोडिने सडकनै वाइपास सडक हो । दुइलेनको यो सडक पुरानो हो । यसलाई चारलेनको बनाउनको लागि १३ करोड ४५ लाख रुपैयाँमा गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका विभागीय इन्जिनियर विजय दराइले भन्नु भयो ‘निर्माणको ठेक्का पाएपछि विजुलीको पोल सार्नु पर्ने, खानेपानीको पाइपको व्यवस्था गर्नु पर्ने थियो, त्यो सबै समस्या समाधान भएको एक वर्ष भइसक्यो तर पनि काम भएको छैन ।’
सडकको दायाँवायाँ ग्रावेल हालेर राखेको छ तर कालोपत्रे गरेको छैन उहाले भन्नु भयो । बाधा अबरोध केही नहुदा समेत काम नगरेर हैरान बनाएको छ दराइले भन्नु भयो ‘अब अन्तिम पटक म्याद थप्ने तयारी छ, थपेको मितिमा काम भएन भने कार्बाहीको लागि सिफारिस हुन्छ ।’
निर्माण ठेक्कामा सडकको दायाँ ७ मिटर फराकिलो दुइलेन, वायाँ ७ मिटरको दुइलेन बनाउने सम्झौता उल्लेख छ । सडकको बिचमा साढे दुइमिटरको डिभाइडर राख्ने तयारी छ । गौरीपार्वती निर्माण सेवाका ठेकेदार सुनिल लामिछानेले भन्नु भयो ‘ठेक्का पाउदा विजुलीको पोल सार्नु पर्ने हाम्रो जिम्मेवारी थिएन, विद्युत कार्यालयले ढिला गर्दा समस्या भयो पछि रुख कटान, प्रशासनिक कामको कारणले समस्या भएको हो ।’ अहिलेपनि दुइतीन वटा पोल सार्न बाँकी छ त्यसैले ढिलो भएको छ, अब थपिने म्यादको समयमा काम सम्पन्न हुन्छ ।
साढे ४ किलोमिटर रहेको वाइपास सडकमा दुइ किलोमिटर ३ सय मिटरमात्रै फराकिलो बनाएर कालोपत्रे गर्ने सम्झौतामा छ । बाँकी स्थानको सडकमा अर्को ठेक्का सम्झौता गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वाइपास सडक फराकिलो बनाउन जग्गा विवाद, सामग्रीको समस्या नभएको कार्यालयले जनाएको छ । रुखकटानको समस्या कालोपत्रे गर्ने स्थानको नभइ ढल निर्माण गर्ने ठाउको मात्र भएको डिभिजन प्रमुख अधिकारीले बताउनु भयो ।
यही निर्माण कम्पनीले भरतपुर विमान स्थलको धावन मार्गमा ओभरल्याप गर्ने निर्माणको ठेक्का पाएको छ । यहाँ पनि यस कम्पनीले काममा ढिलासुस्ती गरेको भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले बताउनु भयो । उहाले भन्नु भयो ‘०७६ असार मसान्तसम्म ओभरल्याप कालोपत्रे गर्नुपर्ने गरेन, दशैमा सक्छु भनेको थियो त्यो पनि भएन ।’ धेरै दवावपछि १५ गतेबाट एयरपोर्ट बन्द गराएरै काम गर्न लगाएका छौ गौतमले भन्नु भयो ।


