नयाँ जग्गा पाउन कठिन केरा किसान भने बढ्दो

चितवन समाचार डटकम,
१६ मङसिर । व्यवसायिक केरा खेती गर्नको लागि चितवनमा जग्गाको अभाव हुन थालेको छ ।
खेती गर्दै आएका किसानले क्षेत्रफल बृद्धि गर्न र नयाँ खेती गर्नेको सख्या वृद्धि भएपछि जग्गाको अभाव भएको हो । पटेक क्षेत्रका रुपमा रहेको पूर्वी चितवनको कालिका नगरपालिकामा पनि यो समस्या भएको वडा नंं. ६ का अध्यक्ष विनोद रेग्मीले बताउनु भयो । ‘बाझो रहेका र खेतीको लागि भाडामा दिन चाहनेहरुको जमिन सकिएकाले वडामा जग्गा अभाव छ ’ उहाले भन्नु भयो ‘ठुलो क्षेत्रफलको जग्गा अब छैन, वडा बाहिरको क्षेत्रमा पनि यस्तै समस्या छ ।’ कृषिलाई व्यवसायीकरण गर्ने भन्ने लक्ष्य लिएपनि ठुलो मात्रामा खेती गर्न चाहनेहरुको लागि जग्गाकै कारण नयाँ खेती हुन सक्दैन उहाले भन्नु भयो ।
कालिका नगरपालिका कृषि शाखा प्रमुख शिवराज पौडेलले भन्नु भयो ‘सबैभन्दा पहिला जग्गा पाइदैन, पाएपनि जंगल हुने, जनावर र चोरको डर हुने भन्दै केरा केतीको लागि जमिन पाउन मुस्किल छ ।’ जग्गा खण्डिकरण, ठुलो क्षेत्रफलका खाली जमिन सकिएको, खेती गर्न चाहने किसानको सख्या वृद्धि भएकोलगायतका कारणले व्यवसायिक खेती गर्न समस्या भएको उहाले बताउनु भयो ।
केरा उत्पादक व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष यज्ञ सुवेदीले भन्नु भयो ‘मेहनत गर्नेहरुको लागि केराखेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ, त्यसैले नयाँ किसानको आकर्षण बढेको छ तर जग्गा पाइदैन ।’ २०५७ सालबाट व्यवसायिक केरा खेती गर्दै आउनु भएका सुवेदीको अहिले ७० विगाह क्षेत्रफलमा खेती गर्दै आउनु भएको छ । सुवेदीले भन्नु भयो ‘केराखेती गरेको १९ वर्ष पुग्यो अहिले ७० विगाहमा खेती गर्दै आएको छु यसलाई बिस्तार गर्न जग्गा खोज्दा पाइदैन ।’ उहाका अनुसार जग्गाको अभावसंगै केराखेतीको लागि सिचाइको पनि समस्या रहेको छ ।
बलौटे, सुख्खा जग्गामा दुखाको साथ किसानले खेती गर्दै आएको किसानले बताएका छन् । केरा उत्पादक व्यवसायी संघ चितवनका अध्यक्ष घननाथ महतोले भन्नु भयो ‘पुराना केरा किसानले खेती गर्दै आएको जग्गाको सम्झौता समय सकिउपछि नयाँ जग्गा खोज्दा पाइदैन, व्यवसाय राम्रो छ तर जग्गाको अभाव खड्किएको छ ।’ केराखेतीको लागि पूर्वी चितवनको जयमंगला, पिठुवा, पदमपुर, जुटपानी, कुमरोज लगायतको स्थान उपयुक्त रहेको छ । यस क्षेत्रमा अहिले जग्गाको अभाव भएको उहाले बताउनु भयो । पूर्वी चितवनको पूर्व पश्मिच राजमार्ग भन्दा दक्षिण धानखोती हुने स्थानमा अहिले केरा खेती गर्न सुरु गर्न थालेको बताउनु भयो । धेरै पानी जम्ने स्थानमा केरा हुदैन उपयुक्त जग्गा भएको क्षेत्रमा पाइदैन उहाले भन्नुभयो ।
जग्गासंगै सिचाइ, समयमा मल, विउको समस्याको विषयमा सरकारको ध्यान जान नसकेको उहाले बताउनु भयो । मार्कण्य केरा उत्पादक संघका अध्यक्ष ध्रुव ढुंगानाले भन्नु भयो ‘कुखुरा पालनको क्षेत्रमा लागेका किसानपनि व्यवसायिक केरा खेती तर्फ आउन थालेपछि जग्गाको अभाव हुन थालेको हो ।’ नयाँ किसानको सख्या हरेक दिनजसो वृद्धि भएको छ तर जग्गाको क्षेत्रफल घट्दो छ यसले गर्दा चितवनमा केरा खेतीका लागि जग्गाको अभाव भएको छ उहाले भन्नु भयो । केरा व्यसायीका अनुसार चितवनमा अहिले ३ हजार २ सय विगाह क्षेत्रफलमा केरा खेती हुदै आएको छ । त्यसमा १२० जना किसान आवद्ध भएको संघका पूर्व अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । यहाँ हरियो जातको केरा करिब ७ सय विगाहामा लगाउने गरेको छ भने बाँकी स्थानमा मालभोग जातको केरा लगाइने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट